पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का

 पुष १३, २०८१ शनिबार ७:३७:२५ | रासस
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – पुस लागेपछिको १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । गएको पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ३ र पुस ३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गयो । यस्तै पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सयभन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियाे । पुसको ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र पुसको ११ गते जाजरकोटको नायकवाडा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पोहोर कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पपछि पश्चिम नेपालमा ५ वटा परकम्प गएको केन्द्रको तथ्याङ्क छ ।

पश्चिम क्षेत्रमा निरन्तरजसो साना तथा मझौला खालका भूकम्पको धक्का महसूस हुँदै आएको छ । जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक पटक भूकम्प गइरहेका छन् । जाजरकोट भूकम्पले भौतिक संरचनामा पुर्‍याएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माणको काम हुन सकेको छैन । पीडित नागरिक अहिले पनि अस्थायी आवासमा छन् ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वसतर्कता अपनाउन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन विज्ञको सुझाव छ ।

नेपालमा २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया