गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
देश उँभो लाग्न नसक्ने समस्याको जड बल्ल पत्ता लाग्यो । यो चानचुने उपलब्धि हैन । यो त न्युटनले गुरुत्वाकर्षण बल र कोलम्बसले अमेरिका पत्ता लगाएको भन्दा पनि महान् उपलब्धि हो । प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्न सकेको खण्डमा छिटो बिहेकै कारण देशले छिटो प्रगति गर्ने कुरा पक्का भयो ।
उबेलाका हजुरबा–हजुरआमाहरूले ८/९ वर्षमै बिहे गर्थे । आफू १५/१६ वर्षको उमेर हुँदासम्म छोराछोरी जवान भइसक्थे । कपाल नफुल्दै घरभरि नातिनातिना र पनातिपनातिना खेल्न थालिसक्थे । खनजोत, घाँसदाउरा, कुँडो भकारो गर्ने मान्छेको कमी थिएन । घरभरिका मान्छे जुट्दा पहाडै फोर्न सक्ने बल मिल्थ्यो । त्यही बलले घर बन्यो, समाज बन्यो, देश बन्यो ।
तर अहिले एकथरी मान्छेहरू दाँत फुक्लन थाल्दासम्म पनि बिहे गर्नै मन नगर्ने भए । अर्काथरिलाई चाहिँ राम्रोसँग दाँत उम्रन नभ्याउँदै बिहे गर्ने हतारो हुन थाल्यो । बिहे गर्न मन नगर्नेमध्ये कतिपयलाई बिहेपछि के हुन्छ भन्ने अनुभव पहिल्यै भएकाले जाँगर नभएको हुनसक्छ । छिटो बिहे गर्नेलाई चाहिँ बिहे नगरी अनुभव हासिल गर्ने अवसर नमिलेको हुन सक्छ । कारण जेसुकै होओस्, समाजमा थरीथरीका मान्छेले थरीथरीका समस्या निम्त्याउन थाले । कसैले बुढ्यौलीसम्म बिहे गरेन भन्ने चिन्ता । कसैले चाहिँ खुट्टा टेक्न नभ्याउँदै बिहे गर्याे भन्ने तनाव । कोही बिहे नै नगरी विदेशिने । कोही विदेशमै घरजम गरेर रमाउने ।
देशमा बाबुआमा एक्लै भएर दिक्क, विदेशमा छोराछोरी आ–आफ्नै सुरमा ठिक्क । घरमा बुहारी राखेर छोरो विदेश गएको भए फर्कन्थ्यो । छोरीलाई कलेज पठाउनुअघि नै बिहे गरिदिएको भए कन्सल्टेन्सी धाउने मेसो पाउँदैन थिई । सबैका छोराछोरी यतै भएको भए घर, समाज र देश बन्थ्यो । यति कुरा बुझ्न माननीयहरूले धेरै दिमाग घुमाउनुपर्याे ।
बिहेको उमेर घट्दा पहिलो फाइदा त माननीयहरूलाई नै हुन्छ । चुनावमा भोट दिनजस्तै बिहे गर्न पनि १८ वर्षको उमेर हुने भएपछि मान्छेहरूले पहिले बिहे गर्छन् । त्यसपछि नयाँ नवविवाहित जोडी सँगै भोट दिन जान्छन् । बिहेको केही दिनसम्म त दुवैको तन र मन एउटै हुन्छ । त्यसैले श्रीमानले जहाँ भोट दिने भन्छन्, श्रीमतीले त्यहीँ दिन्छिन् । श्रीमतीले जहाँ भन्यो श्रीमानले त्यहीँ छाप लगाउँछन् । उम्मेदवारले दुई जनालाई छुट्टाछुट्टै फकाउन पर्दैन । एक जनालाई फकाउँदा दुई वटा भोट पक्का ।
त्यसपछिको फाइदा त परिवार, समाज र देशलाई नै हुने हो । स्कुलको पढाइ सकिने बेलासम्म बिहे गर्ने उमेर भइसकेको हुन्छ । कलेज पढ्न जाने बेलासम्म साथमा आफ्नै वैधानिक जोडी । डेरामा बस्न अर्को साथी खोज्न पनि परेन । बस्ने कोठा एउटै । पढ्ने कलेज एउटै । कक्षा र बस्ने बेन्च एउटै । आफ्नै जोडी भएपछि कलेजमा लभ पर्ने चक्कर पनि भएन । कलेज पढ्न गएका छोराछोरी अर्कैसँग लाग्ने हुन् कि भनेर बाउआमालाई चिन्ता पनि नहुने भयो । कक्षामा सबैका आ–आफ्नै जोडी भएपछि को कोसँग लाग्यो, कसको ब्रेकअप भयो भनेर कसैले जासुसी र निसाफ पनि गर्नु परेन । प्रेम र धोकामा अल्झन नपरेपछि सबै विद्यार्थीको पढाइ पनि अब्बल हुने भो । सबै कलेज र सबै विद्यार्थी उत्कृष्ट । भएजतिका सबै युवा दक्ष र क्षमतावान् ।
बिहेपछि पनि अर्कैसँग चक्कर चलाउने एकाध घटनाबाहेक प्रेममा धोका र अविश्वासबाट हुने सामाजिक हिंसा र अपराध स्वात्तै घट्छ । स्वात्तै घट्न थालेको जन्मदर चाहिँ ह्वात्तै बढ्छ । कलेजको सर्टिफिकेट आउने बेलासम्म बिहेको सर्टिफिकेट निस्किसकेको हुन्छ । बिहेको सर्टिफिकेट घरमा छोडेर कलेजको सर्टिफिकेट बोकेर कन्सलटेन्सी धाउने रहर कसले गरोस् ? त्यसपछि त पढ्न भन्दै विदेश जाने विद्यार्थीको सङ्ख्या घट्छ । दक्ष जनशक्ति देशमै बस्छन् । कोही जागिर खान्छन्, कोही खेतबारीमा फर्कन्छन् । अहिलेका रित्ता घर र बाँझा खेतबारी हराभरा हुन थाल्छन् ।
१८ वर्षमै बिहे भयो भने ४० वर्षको उमेरसम्म त छोराछोरी पनि जवान भइसक्छन् । एक वा दुई सन्तानमा खुम्चिएको अहिलेको परिवारमा माहिला, साहिला, काहिला, ठाहिला, अन्तरे, जन्तरेहरूको पनि जन्म हुन्छ । कपाल फुल्ने बेला हुन थाल्दा नातिनातिना पनि हुर्किसक्छन् । एउटै परिवारमा काम गर्न सक्ने उमेरका तीन पुस्ता । परिवारका तीन पुस्ता सँगै काममा निस्केपछि देश बन्न के को बेर ?
सबैभन्दा हाईसञ्चो त प्रहरीलाई हुन्छ । अहिले बालबिहे भयो भन्दै कहिले केटाकेटी समात्न गाउँतिर कुद्नुपरेको छ । कहिले अनैतिक काम भयो भन्दै शहरका होटल लजमा कसैका श्रीमान, कसैका श्रीमती र प्रेमी–प्रेमिकालाई समात्नुपरेको छ । समाजमा शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी बोकेका प्रहरी केटाकेटी र अधवैंशे समात्दै हिँड्नुपरेपछि देशमा अमनचैन कसरी हुन्छ ?
समाजमा शान्तिसँगै सुखी नेपाली र समृद्ध नेपाल बनाउने हो भने बिहेको उमेर घटाउन बेर भइसकेको छ । बरु १८ वर्षभन्दा पनि कमको बनाएर बालबिहेलाई अनिवार्य गर्ने हो भने देशमा आजको भोलि नै परिवर्तन सम्भव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।