अमेरिकी प्रतिबन्धको अन्तर्राष्ट्रिय फौजदारी अदालतले निन्दा गर्‍याे

 माघ २५, २०८१ शुक्रबार १८:९:९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी प्रतिबन्धको निन्दा गरेको छ । आईसीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गर्दै विश्वभर न्याय र आशा प्रदान गरिरहने प्रतिबद्धता जनाएको एएफपीले जनाएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले विज्ञप्ति निकालेर अमेरिकाले आफ्ना अधिकारीहरूमाथि लगाएको प्रतिबन्ध तथा स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्‍याउने कार्यकारी आदेश जारी गरेको भन्दै भर्त्सना गरेको छ । आईसीसीले आफ्ना १ सय २५ राज्य पक्ष, नागरिक समाज र विश्व समुदायलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतले आफू र आफ्नो सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

यस आदेशअन्तर्गत आईसीसीका अधिकारी र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको खबरमा उल्लेख छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वाशिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

गएको वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले गाजामा भएको भनिएको ‘युद्ध अपराध’ का लागि इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले आईसीसीको आरोपलाई अस्वीकार गरेको थियो । आईसीसीले प्यालेस्टिनी विद्रोही समूह हमासका कमाण्डरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया