विवाहको उमेरबारे अधिकारकर्मीहरुकै फरक–फरक मत

 माघ २६, २०८१ शनिबार ८:३४:५७ | सीता बि.के.
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएसँगै यसबारे बहस भइरहेको छ ।

अधिकारकर्मी श्वेता सरित २० वर्षे उमेर हद अव्यवहारिक भएकोकाले १८ वर्षमा झार्नु नै उपयुक्त हुने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘हाम्रो गाउँघरमा अझै पनि  १५, १६ वर्ष पुगेपछि बिहे गर्ने चलन छ ।

उमेर बढेपछि पछि केटा पाइँदैन भन्ने सोच छ । जति केटी पढेलेखेको छ दाइजो पनि दिनैपर्छ । त्यसैले विवाहको उमेर १८ वर्षमा झार्नु उपयुक्त नै हुन्छ ।’ उहाँले गाउँघरमा सानै उमेरमा विवाह गर्ने, चित्त बुझ्दा राम्रै हुने र चित्त नबुझ्दा बलात्कारको मुद्दा लगाइदिने प्रवृत्ति बढेकाले १८ वर्षमा उमेर हद राख्दा यस्तो समस्या कम हुने बताउनुभयो ।

अर्का अधिकारकर्मी  रीता साह भने विवाहको उमेर घटाउन खोज्नु दुखद् भएको बताउनु हुन्छ । ‘मतदान गर्ने, विवाह गर्ने, नागरिकता पाउने भन्ने छुट्टाछुट्टै विषय हुन् । विवाह यौन सम्बन्धसँग मात्रै जोडिएको हुँदैन । सानै उमेरमा विवाह गर्दा महिलाको प्रजनन स्वास्थ्य, आङ खस्ने, मातृ मृत्युदर, बाल मृत्युदर लगायतमा असर पार्छ । यति मात्रै नभएर बालबालिका दुवैको शारीरिक, शैक्षिक, आर्थिक, मानसिकलगायतका कुरामा जटिलता ल्याउँछ । त्यसैले कुतर्क गरेर विवाहको उमेर घटाउनु हुँदैन’ उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गतको उपसमितिका सदस्य रञ्जु कुमारी झा विवाहको उमेर १८ वर्षमा झार्ने प्रस्ताव समुदायबाटै आएको दाबी गर्नुहुन्छ ।

उहाँले भन्नुभयो ‘मधेश, लुम्बिनी र सुदूरपश्चिममा भएको अध्ययनको क्रममा धेरैजसो विवाह १५, १६ वर्षमा भएको पायौँ । त्यसपछि विवाह दर्ता, बच्चाको जन्मदर्ता गराउन धेरै कठिन भएको छ भन्ने कुरा उहाँहरुबाटै आएको हो । यसमा हाम्रो राय केही छैन समुदायको कुरा जस्ताको तस्तै राखेका हौँ । ’ 

कतिपयले १६ वर्षमा नागरिकता पाउने, १८ वर्षमा भोट हाल्न मिल्ने र विवाह गर्न २० वर्ष कुर्नुपर्ने भन्दै अहिलेको उमेर हद र सामाजिक मूल्य–मान्यताबीच तालमेल नमिलेको तर्क गरिरहेका छन । उपसमितिका सदस्य झाले विवाहको उमेर हेरफेर गर्दा व्यापक बहस, छलफल हुन जरुरी रहेको बताउनुभयो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ कार्यान्वयनमा आउनुअघि विवाह गर्न पाउने न्यूनतम उमेर महिलाको हकमा १८ र पुरुषको हकमा २० वर्ष थियो । अहिले मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन मिल्दैन । यस प्रावधानविपरीत भएको विवाह स्वतः बदर हुन्छ । त्यसबमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरीवाना हुने ऐनमा व्यवस्था छ ।

अधिवक्ता मोहन आचार्य विवाहको उमेर २० वर्ष हुनुपर्ने अहिलेको प्रावधान शैक्षिक, आर्थिक, स्वास्थ्यलगायत सबै दृष्टिकोणले वैज्ञानिक भएको तर्क गर्नु हुन्छ । विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न नहुने भन्दै उहाँले बरु तीनैतहको सरकारले व्यापकरुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीता बि.के.

सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया