सात महिनामा झण्डै २७ अर्बको विदेशी लगानी प्रतिबद्धता, सबैभन्दा धेरै पर्यटन क्षेत्रमा

 फागुन ३, २०८१ शनिबार ९:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिनामा नेपाललाई करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

साउनदेखि माघसम्म तीन सय ८६ उद्योगका लागि २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट दुई सय ११ उद्योगका लागि २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ तथा स्वचालित प्रणालीबाट एक सय ७५ उद्योगका लागि २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

सात महिनाको अवधिमा तीन सय ७५ वटा साना उद्योग, सात वटा मध्यम र चार वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । सात महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १० हजार सात सय २६ जनाले रोजगारी पाउनेछन् ।

माघ महिनामा मात्रै ३२ उद्योगका लागि १ अर्ब ६ करोड ५२ लाख ४५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । माघमा ३३ वटा साना उद्योग, दुई वटा मध्यम र एउटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा प्राप्त भएको छ । सात महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४४ प्रतिशत अर्थात एक सय ६८ वटा उद्योगहरुका लागि आएको छ ।

यस्तै, सूचना प्रविधि क्षेत्रमा ३५ प्रतिशत अर्थात् एक सय ३४ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार सेवा क्षेत्रका लागि ४८ वटा अर्थात १२ प्रतिशत, उत्पादन क्षेत्रका २७ वटा अर्थात ७ प्रतिशत, कृषिका ६ वटा अर्थात २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको दुई उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया