गाउँ–गाउँमा विकासका पूर्वाधार पुग्दै तर बसाइँसराइले बस्ती रित्तिदै

 फागुन ३, २०८१ शनिबार १२:८:५१ | रासस
unn.prixa.net

‘गाउँ गाउँजस्तो छैन,     
शहर शहरजस्तो छैन,     
कस–कसले के–के गर्दिए कुन्नि,     
आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’

कवि हेम हमालको कवितामा भनिएझैँ तीव्ररूपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण गाउँ रित्तिदै गएका छन् । अचेल गाउँ गाउँजस्ता रहेनन् भने शहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ ।

चार/पाँच वर्षअघिसम्म दुर्गम मानिएका गाउँहरूमा पछिल्लो समय विकासको लहर चलेको छ । तैपनि गाउँ रित्तिने क्रम बढ्नु निक्कै चिन्ताको विषय बनेको छ ।

सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकास निर्माणले गति लिएको छ । अझ सङ्घीयता कार्यान्वयनमा आएसँगै पालिका सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भएका छन् । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्य चौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै शहर झर्ने र मधेश पस्नेहरूको सङ्ख्या वर्षेनि बढ्दै गएको हो ।

विकास र पूर्वाधार तथा सेवा सुविधा गाउँमा पुगे पनि बढ्दो बसाइँसराइले यसलाई ओझेलमा पारेको छ । गाउँ छोड्ने क्रम बढेसँगै गाउँघर रित्तो हुन थालेका म्याग्दीको रघुुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँमा घरहरू त छन् तर ती घरमा बस्ने मानिसहरू छैनन् । बस्ती पातलिँदै जान थालेको छ । भीरपहरा र खोलाहरू छिचोल्दै गाउँमै सडक पुगेको छ । सुविधा थपिएका छन् । विद्यालय, स्वास्थ्य चौकीदेखि लिएर खानेपानी र सिँचाइको राम्रो सुविधा भए पनि मानिसहरू थप सुविधाको खोजिमा शहर बजार र तराईतिर जाने क्रम भने झन बढ्दै जान थालेका छन् ।’

यो म्याग्दीको मात्रै समस्या रहेन । धेरैजसो जिल्लामा छिटपुटबाहेक गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन् । दुर्गम गाउँहरूबाट मात्रै होइन सदरमुकाम नजिक र सबै कुराको सुविधा पुगेका क्षेत्रबाटसमेत शहरमा बसाइँसराइ बढ्दै गएको छ ।

बसाइँसराइ समस्या र चुनौती बनेको जनप्रतिनिधिहरू बताउँछन् । बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्की गाउँमा विकासले गति लिँदै गरे पनि बसाइँ सर्नेको सङ्ख्यामा भने कमी आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । गाउँमा साह्रोगाह्रो र आपत्–विपद् पर्दा सहयोग गर्ने छिमेकी घट्दै जान थालेका छन् ।

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया