राजनीतिक दल र उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो बन्दै : आयाेग

 फागुन ७, २०८१ बुधबार १५:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ ।

नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो ।

‘चुनाव महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरूको इमानदारितामाथिको प्रश्न हो । निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरूलाई मैले सोध्ने गरेको छु– तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नू’, उहाँले भन्नुभयो ।

चुनावका बेला प्रयोग हुने राज्य संयन्त्रको इमानदारितामाथि पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रश्न उठाउनुभयो । चुनावको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ । चुनावमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

नागरिक सचेत भएमा मात्रै चुनाव सफल हुने प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गर्नुभयो । त्यस्तै आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै ठाउँको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उहाँको भनाइ छ ।

‘निर्वाचनको प्रभावकारिता : निर्वाचन प्रक्रियामा आमनागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौं निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ ।

यस्तै दोलखा, स्याङ्जा, डडेल्धुरामा जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको छ । त्यस्तै हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया