यस वर्षको अन्तिम हिउँदे प्रणाली सक्रिय, केही ठाउँमा पानी र हिउँ पर्दै

 फागुन ८, २०८१ बिहीबार १८:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहीवार दिउँसो भएको हिमपात । तस्वीर : सन्तोष गौतम/रासस

काठमाण्डाै – अहिले देशका केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी प्रदेशका धेरैजसो ठाउँसहित देशका अरू केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनलाइन प्रणाली अनुसार स्याङ्जाको आँधिखोलामा रहेको मापन स्टेशनमा पछिल्लो ३ घण्टामै ९ दशमलव ६ मिलिमिटर पानी परेको छ । यस्तै म्याग्दी, गुल्मी, बाग्लुङ, गोरखा, कास्की लगायतका जिल्लामा पनि पानी परिरहेको छ । यसैगरी सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा लगायत पूर्वी जिल्लाका केही ठाउँमा पनि पानी परिरहेको छ ।

पानी पार्ने प्रणाली गण्डकी प्रदेशमा सक्रिय भएको र पूर्वतर्फ सर्ने क्रममा उत्तर हुँदै अघि बढेकोले काठमाण्डौको उत्तरी क्षेत्रमा छिटपुट वर्षा भए पनि उपत्यकामा वर्षाको सम्भावना ज्यादै कम रहेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

आज उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना छ । जलवायु विपद् विज्ञ उप्रेतीका अनुसार अहिले सक्रिय रहेको प्रणाली यसपालि हिउँदमा पानी पार्ने अन्तिम प्रणाली हो । नेपालको मौसमी पात्रो अनुसार मङ्सिर १५ गतेदेखि फागुन १५ गतेसम्मको तीन महिनालाई हिउँद अवधि मानिन्छ । अब फागुन १५ गतेअघि अर्को प्रणाली आउने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

हिउँदयामको अन्त्यतिर सक्रिय भएको प्रणालीले औसत वर्षा केही बढाएको छ । हिजोसम्म हिउँदयाममा हुने औसत वर्षाको साढे ९ प्रतिशत वर्षा भएकोमा आज बढेर साढे १० प्रतिशत पुगेको छ । २० प्रतिशतभन्दा कम वर्षा हुनुलाई सुक्खा हिउँद मानिन्छ ।

अघिल्लो वर्षको हिउँद पनि सुक्खा भएकोमा यो वर्ष पनि सुक्खा हुने सम्भावना उच्च भएको छ । हिउँद सुक्खा हुँदा कृषिबालीमा असरसँगै डढेलो, वायु प्रदूषण लगायतको जोखिम बढ्छ । भोलि दिउँसोपछि मौसममा क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया