माओवादीले स्थानीय जनप्रतिनिधिलाई समाजवादबारे प्रशिक्षण दिने

 फागुन ९, २०८१ शुक्रबार १८:१८:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले पालिका तहबाट समाजवादको पूर्वाधार निर्माण गर्ने उद्देश्यले पार्टीका तर्फबाट पालिकामा विजयी मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ । यसका लागि माओवादीले भाेलि र पर्सि काठमाण्डाैमा स्थानीय पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला राखेको छ ।

भेलामा पालिका तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने आज काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

भेलामा माओवादी केन्द्रका तर्फबाट विजयी भएका एक सय २३ पालिकाका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ । माओवादी केन्द्रले भेलाबाट पछिल्लो चुनावमा विजय हासिल गरेका पालिकामा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य लिएको छ ।

भेलामा निर्धारित राष्ट्रिय सूचकाङ्कमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्षले आ–आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ । भेलामा समाजवाद निर्माणको आधारबारे विज्ञ सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानून र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ । माओवादीले यसअघि पालिकाकाे चुनावलगत्तै पार्टीका तर्फबाट विजयी स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया