वन्यजन्तुलाई पानीका लागि 'बोरिङ'

 फागुन ९, २०८१ शुक्रबार १८:२५:२७ | रासस
unn.prixa.net

चितवन – चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो । घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुई वटा, कसरामा दुई वटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।

चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । उहाँका अनुसार १० लाख रुपैयाँको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ । यस वर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रूपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि २१ लाख रुपैयाँ खर्च गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

निकुञ्जको नियमित बजेटबाट ६ लाख र ताल कार्यक्रमको १५ लाख रुपैयाँ बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो । विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरूले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ । थप दुई वटा पोखरी नयाँ निर्माण गरिएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ ।’

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया