अपर म्याग्दी–१ को बाँध निर्माण शुरू

 फागुन ७, २०८१ बुधबार १८:१९:२७ | रासस
unn.prixa.net

म्याग्दी – धवलागिरि गाउँपालिका–४ खाम्लामा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण शुरू भएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण शुरू भएको हो ।  जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण शुरू गरेको आयोजनाका प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो ।

विसं २०८० चैत १९ गते सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एन्ड कन्ट्र्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ, उहाँले भन्नुभयो, विसं २०८३ फागुन २१ गते बिजुली उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युत् गृह निर्माणको कामलाई तीव्रता दिएका छाैँ ।

विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा शुरू भएको १९८.९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताउनुभयो । ५ किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरू गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका–७ भारवाङमा रहनेछ । भारवाङदेखि १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सबस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा बिजुली केन्द्रीय लाइनमा जोडिनेछ ।

बाँध निर्माण स्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्ला ३ वटा पानी थिग्र्याउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । अहिलेसम्म १६.५ प्रतिशत भौतिक प्रगति भएको छ । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत् गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत् गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।

भारवाङदेखि बाँध निर्माण स्थलसम्म ९ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको ६ करोड २० लाख रुपैयाँ बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि अहिलेसम्म १ एक करोड ९ लाख १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया