कांग्रेस केन्द्रीय समितिले पारित गर्याे महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन

 मंसिर २४, २०७५ सोमबार १७:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरेको छ । 

कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको समितिले पेश गरेको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

कांग्रेस केन्द्रीय समितिले पारित गरेको आर्थिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको आर्थिक नीतिबाट देशलाई समृद्ध बनाउन नसकिने दाबी गरिएको छ ।

त्यसैगरी प्रतिवेदनमा उत्पादनमा जोड दिएर गरिब नागरिकको पक्षमा आर्थिक पहुँचको विकास गर्नुपर्ने उल्लेख गरिएको छ । सरकारको निषेध र नियन्त्रणमुखी अर्थनीतिका कारण नागरिकमा वैदेशिक लगानी गएकाे वर्षभन्दा ७५ प्रतिशत घटेको तथा आन्तरिक लगानी पनि पलायन हुने क्रम बढेको कांग्रेसको निष्कर्ष छ ।

आगामी मंसिर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी छ । मंगलबार पनि बैठक बस्ने छ । मंगलबार बस्ने केन्द्रीय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

पार्टीका उपसभापति बिमलेन्द्र निधि नेतृत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनमाथि मंगलबार नै छलफल गरेर टुंगो लगाउने कार्यसूची पनि तय गरिएको पार्टीका प्रवक्ता शर्माले बताउनुभयो ।

यसअघि पेश गरिएको विधान संशोधन मस्यौदा प्रतिवेदनमाथि कांग्रेस केन्द्रीय कार्य समितिमा छलफल भईसकेको छ । सो प्रतिवेदनलाई केन्द्रीय सदस्यहरुले दिएको सुझावको आधारमा अन्तिम रुप दिने काम भईरहेको पनि कांग्रेसले जनाएको छ ।

कांग्रेसले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पनि पेश गर्नेछ । त्यस प्रतिवेदन पनि छिट्टै केन्द्रीय कार्य समिति बैठकमा पेश हुने प्रवक्ता शर्माले जानकारी दिनु भयो ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया