पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं - २०३५/३६ सालतिर इतिहास विभाग समग्र त्रिभुवन विश्वविद्यालयको लागि गौरवको विषय थियो । २६ जना प्राध्यापक थिए । त्रिविको इतिहास विभागमा अध्ययन अनुसन्धान गर्न अमेरिका, जर्मन, बेलायतलगायतका देशबाट इतिहासका अनुसन्धाकर्ता आउँथे ।
इतिहासको विद्यार्थीभन्दा पनि विद्यार्थी गर्व गर्थे । इतिहास विभागमा सभा सेमिनार हुन्थे, बहस छलफल हुन्थे, नेपालको मात्र नभइ विश्व इतिहासको पढाइ र बहसको केन्द्र बनेको थियो त्रिवि इतिहास केन्द्रीय विभाग । २०१७ सालमा स्थापना भएकोले त्रिविका जेठा विभागमध्ये इतिहास विभाग पनि एक हो ।
त्रिविमा भएका अध्ययन अनुसन्धानको प्रतिस्पर्धा भयो भन इतिहास विभाग संख्यात्मक हिसाबले पनि अनि गुणात्मक हिसाबले पनि अब्बल ठानिन्छ । इतिहास केन्द्रीय विभागमा पढाएका प्राध्यापक सबैजसोले कम्तीमा ३/४ वटाका दरले अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन् । अहिले पनि दाँज्दा अरु विभागका प्राध्यापकका भन्दा इतिहास विभागका प्राध्यापकका कृति नै धेरै देखिन्छन् ।
‘त्यो बेला हाम्रो विभाग सबै विभागभन्दा अब्बल थियो, नेपालीको मात्रै नभै इतिहास अध्ययन गर्ने धेरै विदेशीको लागि अध्ययनको राम्रो थलो थियो’, इतिहास विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले भन्नुभयो, ‘इतिहास विभाग स्थापनाका हिसाबले मात्रै होइन, गुणस्तरीयता र अध्ययन अनुसन्धानका हिसाबले पनि जेठो नै हो ।’
पूर्व विभागीय प्रमुख तथा इतिहासकार प्राध्यापक डाक्टर त्रिरत्न मानन्धरको भनाई पनि उस्तै छ, ‘त्यो बेला हामी पढाउने र पढ्ने दुवैले गर्व गर्ने विभाग इतिहास विभाग थियो, हामीले सामाजिक, आर्थिक, भौगोलिक, डिफेन्स आदिका इतिहासको राम्रो अध्ययन अनुसन्धान गरेका थियौँ । प्राध्यापकसँगै विद्यार्थी पनि प्रफुल्ल थिए, त्रिविले कुनै निर्णय गर्दा इतिहास विभागलाई पहिलो स्थानमा राख्थ्यो ।’
विगतमा त्यत्रो ठूलो चर्चा कमाएको र गर्व गर्न लायक त्रिविको इतिहास केन्द्रीय विभाग आफै इतिहासमा मात्रै सीमित हुने हो कि भन्ने डर बढ्दै गएको छ । २०१७ सालमा गौरव बोेकेर स्थापनाको भएको विभाग २०७५ सालमा आउँदा विद्यार्थीविहीन बन्न पुगेको छ । वार्षिक परीक्षा प्रणालीमा १५/२० जना भए पनि विद्यार्थी हुन्थे, तर त्रिविले सेमेष्टर प्रणाली सुरु गरेपछि विद्यार्थी शून्यसम्म आइसक्यो ।
२०७० सालमा त्रिविले सबै केन्द्रीय विभागमा सेमेष्टर प्रणाली सुरु गरेपछि ८० प्रतिशत हाजिरी पुगेकै हुनुपर्ने नियम भयो, ४० नम्बरको प्रयोगात्मक परीक्षा हुन थाल्यो, पाठ्क्रम पनि नयाँ भयो । विद्यार्थी बढ्नुको साटो उल्टै घटे ।
२०७० सालमा ७ जना विद्यार्थी इतिहास केन्द्रीय विभागमा भर्ना भएका थिए । तर २०७४ सालमा त एकजना विद्यार्थी पनि भर्ना भएनन् । विभागमा विद्यार्थी शून्य भए । कुनैबेला २६ जना प्राध्यापक रहेको विभाग अहिले ८ जना प्राध्यापकमा खुम्चिएको छ । विद्यार्थी नै नहुँदा प्राध्यापकहरुमा पढाउने जाँगर मर्दै जान थालेको छ ।
हरेक दिन सेमिनार, बहस र छलफल हुने इतिहास विभागका कक्षाकोठामा रित्ता डेस्क बेन्च मात्रै छन् । विद्यार्थी नहुँदा विभागको आम्दानी छैन, प्रशासनिक कामको लागि पनि खर्च अभाव हुन थालेको छ । त्यस्तो भरिलो इतिहास विभाग अहिले त्रिविकै सबैभन्दा टिठलाग्दो विभागजस्तो हुन पुगेको छ ।
केही समय अघिसम्म अधिकृत उपसचिवलगायतका परिक्षामा लोकसेवाले इतिहासको छुट्टै पेपरको परीक्षा लिन्थ्यो, अहिले त्यो छैन । यसले गर्दा पनि विद्यार्थी घटेको हुनसक्ने इतिहास विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापा बताउनुहुन्छ ।
अर्को कुरा इतिहास भनेको राजा महाराजाको गुणगान गाउने कोर्षको रुपमा मात्रै चित्रित गरियो । हाम्रो सामाजिक, आर्थिक, राजनितिक, भौगोलिक, सांस्कृतिक पाटोको गतिलो जानकारी इतिहास अध्ययनबाट मात्रै थाहा हुन्छ भन्ने कुराको प्रचारप्रसार नै भएन ।
धेरै पहिले इतिहासमा राजा महाराजाका वृतान्त मात्रै वर्णन गरिए पनि अहिले त त्यस्तो छैन । इतिहास भनेको सबै क्षेत्रको अध्ययन भन्ने सन्देश नै प्रवाह हुन सकेन ।
त्यस्तै अहिलेका धेरैजसो पढाइ व्यवसाय र व्यापारमुखी छन् । तर इतिहास पढेर कहाँ जागिर खाने र जीवन कसरी गुजारा गर्ने भन्नेमा धेरै विद्यार्थी अन्योलमा हुन्छन् । इतिहास पढेर राम्रो जागिर खान पाइन्छ भन्ने सन्देश नजाँदा पनि विद्यार्थीको चासो घटेको प्राध्यापकहरु बताउँछन् ।
काठमाडौंमा भएको एक अन्तरक्रियामा एकजना सहभागीले सोधे, ‘न विद्यार्थी छन्, न विभागको चार्म नै छ, अब यसलाई बन्द गरेर अरु विभागमा गाभ्दा हुँदैन ?
पूर्व प्रमुख तथा इतिहासकार प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर गम्भीर हुनुभयो । आफूले मलजल गरेको विभाग खारेजीको प्रश्नले भावुक पनि बनायो उहाँलाई । ‘संसारका ठूला–ठूला विश्वविद्यालयमा पनि सामाजिक शास्त्र विधाका धेरै विभाग बन्द हुने अवस्थामा पुगे, धेरै कष्ट भोगे, विद्यार्थी पाएनन्, भवन पनि पाएनन, तर फेिर जुर्मुराएका उदाहरण छन्, त्यसैले हामीले पनि इतिहास विभागलाई मलजल गरौँ, बन्द या खारेजीको कुरा नगरौँ’, मानन्धरले भन्नुभयो ।
इतिहास विभागका प्रमुख प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्र पनि यो विभाग बन्द गर्ने पक्षमा हुनहुुन्न । ‘कुनै पनि फूल मर्न थाल्यो भने मलजल हालेर बचाउने कि, गमला नै फुटाउने ? त्यस्तै इतिहास विभागलाई पनि समस्या परेको छ, हामी सबै मिलेर समाधान गर्ने हो, बन्द गर्ने बहस जरुरी छैन’, मिश्रले भन्नुभयो ।
‘विद्यार्थी नै नभएपछि प्राध्यापकहरु घाम तापेर दिन कटाउँदै’ यस्तै यस्तै शीर्षकका समाचार दैनिकजसो आउन थालेपछि इतिहास विभागका प्राध्यापकहरु दिक्क छन् । उनीहरुको गुनासो छ, ‘आफ्नो विभागमा विद्यार्थी नै नहुँदा कुन चाँही प्राध्यापकलाई खुसी लाग्दो हो र ? यस्ता समाचारले हामीलाई निकै दुखी बनाउँछ ।’
शून्यमा झरेको विभागमा तत्कालै भरिभराउ विद्यार्थी आउलान् भन्ने त इतिहास विभागलाई आशा पनि छैन । तर ८/१० जना भए पनि विद्यार्थी भित्र्याउन विभागले छात्रवृत्तिको योजना ल्याउने भएको छ ।
‘हामीसँग खासै पैसा त छैन, तर डिनसँग कुरा गरेर केही विद्यार्थीलाई आंशिक र केहीलाई पूर्ण छात्रवृत्ति दिने योजना बनाएका छौँ, त्यसो भएमा शुल्कैका कारण कसैले इतिहास नपढेको रहेछ भने अब त पढ्न आउलान भन्ने आशा छ’, विभागीय प्रमुख शंकर थापाले भन्नुभयो ।
यस्तै दिउँसोमा मात्रै कक्षा सञ्चालन गर्दै आएको विभागले अब जागिरे विद्यार्थीलाई पनि ध्यानमा राखेर बिहानी कक्षा सञ्चालन गर्ने भएको छ । यस्तै इतिहासका विद्यार्थीले फिल्ड भिजिट नै गर्न पाउँदैनन् भन्ने गुनासो सम्बोधन गर्न अब ऐतिहासिक ठाउँको भ्रमण गराएरै पढाउने योजना पनि इतिहास विभागको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।