‘बुलबुल’ प्रचारका लागि डबल रोलमा स्वस्तिमा

 पुष २२, २०७५ आइतबार १७:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बुलबुल चलचित्रले प्रचारका लागि नयाँ नयाँ शैली अपनाउँदै आएको छ । 

फ्ल्याश मब शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समूहले त्यसपछि सार्वजनिक दुई टिजरमा फिल्मका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट फिल्मका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो । 

यही दुई टिजरबाट मुकुन भुषाल चोपेन्द्रको रुपमा दर्शकमाझ परिचित भएका छन् । 

आइतबार प्रचारको त्यही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामग्रीमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् । 

निर्देशक विनोद पौडेलले स्वस्तिमाले फिल्ममा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । ‘पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं ।

यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहन्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

‘साँघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो ।  फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ ।  फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । 

भिडियोसँगै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते फिल्मको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए । 

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । 

फिल्मलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । 

 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया