प्रजातन्त्र दिवस भव्यताकासाथ मनाउने सरकारको तयारी

 माघ २८, २०७५ सोमबार १३:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ । 

प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताकासाथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो । त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । 

प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहनु भएको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।

फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहनु हुने यो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । 

यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा प्रजातन्त्र दिवससम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राइले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएकाले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको पनि बताउनु भयो । सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना गर्ने विशेष समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र बेलुन उडाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ ।
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया