आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
पर्वत – फलेवास नगरपालिका वडा नं. ९ भंगराकी २१ बर्षिया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी हुनुभयो । उहाँले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरुको सहयोगमा जन्म दिनुभयो ।
बच्चा जन्मिएपछि जन्म प्रमाणपत्र तत्कालै प्राप्त गर्नुभयाे, तर राज्यले तोकेको अर्को सुविधा भत्ता र यातयात भाडा भने उहाँलाई अस्पतालले दिएन ।
सन्तोषी मात्रै होइन, जिल्ला अस्पताल पर्वतमा गएको मंसिरदेखि प्रसूति भएका महिलाहरुले भत्ता र यातयात भाडास्वरुपको रकम पाएका छैनन् ।
नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्तास्वरुप दुई हजार र नियमित जाँच गराएकालाई थप आठ सय गरी दुई हजारदेखि दुई हजार आठ सय रुपैँयासम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि पर्वत जिल्ला अस्पतालले पर्याप्त रकम नभएको भन्दै सुत्केरीलाई रित्तोहात फर्काउने गरेको छ ।
जिल्ला अस्पताल पर्वतले गएको मंसिर महिनादेखि अस्पतालमा भएका सुत्केरीलाई भत्ता दिन नसकेको हो । अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रमका लागि यसअघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत रहेको जिल्ला अस्पतालमा गएको कात्तिक महिनासम्म नगरपालिकामार्फत रकम भित्रिएको र गण्डकी प्रदेश मातहतमा जिल्ला अस्पताल गाभिएपछि उक्त रकम विनियोजन नभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर सन्तोषी थपलियाका अनुसार गण्डकी प्रदेश सरकारसँग माग गरिएको र अख्तियारी नआइसकेकोले सुत्केरी भत्ता प्रदान गर्न नसकेको जानकारी दिनुभयो ।
‘प्रदेश अन्तर्गत सञ्चालनमा आउन सुरु भएपछि रकम निकासा नहुँदा अस्पताल र स्वास्थ्य कार्यालयका प्रशासनिक कामसमेत प्रभावित बनेका छन्,’ उहाँले भन्नुभयो ।
जिल्ला अस्पताल पर्वतमा कार्यरत इन्डोर इञ्चार्ज सरस्वती बरालका अनुसार साउन महिनादेखि हालसम्म जिल्ला अस्पताल पर्वतमा मात्रै दुई सय ७५ जना सुत्केरी भएका छन् ।
कात्तिकसम्म नगरपालिकाबाट प्राप्त रकम चारलाख ५० हजार सुत्केरी भत्ता र यातयात भाडाका रुपमा वितरण गरिसकिएको बताउँदै त्यसपछिका सुत्केरी महिलाहरुलाई रकम अभावमा नै भत्ता र यातयात भाडा प्रदान गर्न नसकिएको उहाँले स्वीकार्नुभयो ।
पर्वतमा एउटा जिल्ला अस्पतालसहित ५२ स्वास्थ्य चौकी र दुई प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
जिल्ला अस्पतालमा यो समस्या आए पनि अन्यत्रका बर्थिङ सेण्टरहरुमा भने खासै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।