राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
सन् २०१८ को सुरुमा ‘अ परदेशी इन प्याराडाइज’ किताब प्रकाशित गरेपछि उनले ठूलो सास फेरेका हुन् ।
कथा सापटी मागिरहनु पर्ने छँदै थिएन् । आफैंले भोगेका दुःख र हैरानी, तिनैका बीच गरेको भगिरथ संघर्ष र आर्जन गरेको सफलतालाई लिपिबद्ध मात्र गरेका छन् गोविन्द रिजालले पुस्तकमा । मध्यम वर्गीय परिवारमा जन्मे हुर्केका उनी जब शरणार्थी बने तब निक्कै महँगो संघर्षको सामना गर्नुपर्यो । टेक्ने समाउने केही थिएन् । किताबमा मात्र होइन, भोगाईमा पनि उनको यात्रा यहाँबाटै सुरु हुन्छ ।
अहिलेको उनको ध्याउन्न सी ४ को जीन कसरी सी ३ बिरुवामा हाल्ने भन्ने विषय केन्द्रित छ । यो भनेको मकै, उखु, कोदोजस्ता अन्नबालीको जीन धान, गहुँ, आलुजस्ता बढी खाइने खाद्य बालीमा मिसाउनु हो ।
यो कामका लागि उनले सन् २०११ देखि सन् २०१६ सम्म फिलिपिन्सको राजधानी मनिलादेखि ६३ किलोमिटर टाढा लसबेनसस्थित इन्टरन्यासनल राइस रिसर्च इन्स्टिच्यूट (आइआरआरआई) मा बिताए । त्यहाँ विश्वका १३ देशका १८ प्रयोगशालाबाट आएका सयभन्दा बढी खाद्य वैज्ञानिकसँग कुममा कुम मिलाएर काम गरे । विषद् अध्ययन र अनुसन्धान अझै जारी छ ।
कृषि बाली प्रजनन् विषयमा विद्यावारिधि गरेका रिजाल भन्छन्, ‘यो हालसम्मको विश्वकै ठूलो खाद्यबाली अनुसन्धान परियोजना थियो, जसका लागि माइक्रोसफ्टका मालिक बिल गेट्स र उनकी श्रीमती मिलिण्डा गेट्सका नामको फाउण्डेसनको सहयोग छ ।’
पश्चिम झापाको दमक–५, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा अभावग्रस्त किशोर उमेर बिताएका रिजालका साथमा सन् १९९२ मा भुटानबाट खेदिएर नेपालमा शरणागत हुन आउँदा माध्यमिक सकेको शैक्षिक प्रमाणपत्र र आङमा लगाएको एकसरो कपडा बाहेक अरु केही थिएन् । उनले शिविरमा बालबालिका पढाएर केही वर्ष बिताए ।
सन् १९९६ को शरणार्थी स्वदेश फिर्ता अपिल आन्दोलनमा सामेल भए । त्यसको परिणाम उनी आफै भारतको जेलमा बस्नु पर्यो । स्वदेश फिर्ता अभियानमा भारत तघारो बनेपछि आजित भएर उनीसहितको समूह शिविर फर्कियो । जस्तै कठीन हविगतमा पनि उभिनु र उठ्नुमा जीवनको सार्थकता छ भन्ने चेत पसेपछि उनले व्यक्तित्व विकासको बाटा खोजे । सुनेका थिए— ‘जहाँ छौ त्यहीँबाट, साथमा जे छ त्यही लिएर र जसरी सक्छौ त्यसरी नै हिँड, तर ढिला नगर ।’
अभाव र दुखको भुक्तमान भोग्दै चितवनको रामपुर कृषि क्याम्पसबाट स्नातक सिध्याए । आफ्नो क्षितिज आफैं उघार्दै जानुपर्छ भन्ने लाग्थ्यो । सन् २००५ मा उनले जपानको क्योटो विश्वविद्यालयबाट अनाजको जेनेटिक इञ्जिनियरिङ विषयको उच्च अध्ययनको लागि तीन वटा छात्रवृत्ति पाए ।
शरणार्थी शिविरमा नापजोख गरेर दिएको अन्नपानीको भरमा बाँच्नुपर्ने अवस्थाको युवकका लागि त्यो अद्भूत अवसर थियो । ‘चारैतिर अन्धकार र अनिश्चय मात्र अन्दाज आउने हालतबाट उठेको हुँ’, उज्यालो अनलाइनसँग कुरा गर्दै उनले भने, ‘सहयोगी र दयालुहरु दुनियाँमा धेरै रहेछन्, इमान्दार दिलले खोज्न जान्नु पर्दाेरहेछ ।’
६ वर्षपछि सन् २०११ मा ट्राभल डकुमेन्टका आधारमा नेपाल फर्किंदा उनको हाते ब्यागमा विद्यावारिधिको प्रमाणपत्रसँगै थियो । आधापेट खाएर र थोत्रो पुरानो लगाएर गरेको मेहनतको बलले आर्जन गरेको सफलताले उनलाई तिखार्दै र उचाल्दै लग्यो । शरणार्थी शिविरको साँघुरो आँगनीबाट यसरी उनी एउटा फराकिलो आयाममा जीवनको उडान भर्न सफल भए ।
भुटानमै छँदा कक्षा १२ पढ्दा उनले जेनेटिक इञ्जिनियरिङको बारेमा कतै हल्का सुनेका थिए । मनमा त्यही विषय पढ्ने चाहना सोचेका थिए । विद्यावारिधिको पढाई पूरा भएपछि त्यो चाहना एक हदसम्म पूरा त भयो ।
तर पढाईलाई खोजमा रुपान्तरण गर्ने र केही देखिनसक्ने काम गर्न बाँकी नै थियो । अवसरको खोजीमा उनी अझै लागिरहेकै थिए । यही क्रममा उनलाई अर्काे सफलता मिल्यो, खाद्य अनुसन्धानको लागि फिलिपिन्स जाने ।
त्यहाँ ६ वर्षको अनुसन्धानको क्रममा गोविन्दसहित १३ मुलुकका खाद्य वैैज्ञानिकहरुले सन् २०३० सम्ममा विश्वको जनसंख्या ९ अर्ब पुग्ने र त्यतिञ्जेलसम्ममा बढी पौष्टिकतत्व दिने गरी अनाजको जीनमा आवश्यकता र योजना अनुसार परिवर्तन ल्याएर उत्पादनमा सुधार ल्याउन सकिने निधोमा पुगेका छन् । भन्छन्, ‘अबका हरेक अनाज केन्द्रित अनुसन्धान कम मेहनतमा बढी र स्वास्थ्य उत्पादन कसरी गर्ने भन्ने विषय केन्द्रित हुनेछन् ।’
अनाजको जीनका भित्री केस्रा केलाउने गोविन्द नेपालमा कृषि मन्त्रालयमा उपसचिव पदमा कार्यरत शान्ता कार्कीकासाथमा शरणार्थी हैसियतमा बस्छन् । अर्थात उनी क्रस म्यारिज भएका तर शरणार्थी हुन् । बेलडाँगी शरणार्थी शिबिरको सेक्टर इ ३ को २५ नम्बर छाप्रो उनको नाममा दर्ता छ ।
अध्ययन र आन्दोलनको लागि धेरैजसो शिविर बाहिर बसेका गोविन्दका बाबु चन्द्रलाल, आमा देवीमाया र बाँकी सबै २ दाजुभाइ र ३ दिदी–बहिनी अमेरिका पुनर्बास भएका छन् । भाइहरु तुला र शिव अनि दिदीबहिनीहरु मनमाया, लक्ष्मी र गंगाका परिवारहरु पनि आमाबाबुका साथ केन्टुकी आसपासमै छन् । तिनका परिवारमा बिहेबारी वा जयजन्म हुँदाको खुशीमा गोविन्द हम्मेसी सामेल हुन सक्दैनन् ।
थुप्रै नातेदारहरु भुटानमै छन् । अरु धेरै आफन्त, चिनारु र साथी—सगोत्रीहरु अमेरिका र यूरोपतिर छरिए । छरपष्ट परिवार भित्रको खुशीको साँचो कता हरायो उनलाई पत्तै भएन् । ‘आकाशका जुनघाम, धर्तीको माटो र हावापानी त सबैतिर उस्तै होला’, भावुक मुद्रामा उनी भन्छन्, ‘हामी भुटानीलाई अचेल यिनै प्रकृतिले मात्र जोड्छन्, भेटघाट, सुख–दुखमा साथ र त्यसले ल्याउने खुशीका मुहानहरु पहिले नै सुकिसके ।’
गोविन्दसँग भुटानको लोद्राईका बाल्यकालका रमाइला सम्झनाले अझै झस्काइरहन्छ । खेत खलिया, गाउँघर स्कुलसँग जोडिएका सम्झनाका केस्रहरु केलाउँदै उनी सपनीमा त्यही घर आँगनमा डुलेको देख्छन् । ‘घर नम्बर ९६ र ठाम नम्बर ७ सय १३’, उनी भन्छन्, ‘नाभी गाडिएको ठाउँ भुल्ने त कुरै भएन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गड्ताैला लामाे समयदेखि भुटानी शरणर्थीका विषयमा कलम चलाउँदै अाउनुभएकाे छ ।