साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन

 चैत २, २०७५ शनिबार ११:३८:८ | मोहन पौडेल

काठमाण्डौ – ‘भाइ जेल परेको ११ महिना पुगेर १२ महिना लाग्यो । भाइ निर्दोष छ भन्दै म कहाँ पुगिनँ होला, तर हाम्रो पीडा कसैले सुनेन । घरमा कसैका आँखा ओभाना छैनन्’ टंक बुढाथोकीको बोली बोल्दाबोल्दै रोकियो । 

साउदी गएका भुपराज जेल परेपछि टंकको मात्रै होइन, परिवारका सबैको ओठमुख सुकेको छ । गुहार माग्दामाग्दै थाकेका छन् परिवारका सदस्य । तर पनि भुपराजका बारेमा केही जानकारी पाएका छैनन् । 

लाखौं युवा विदेशमा छन् । दिनमा सयौं युवा समस्यामा परेको खबर आइरहन्छ । सहयोग र उद्दार गर्ने सरकारी र गैरसरकारी संस्थालाई भुपराजको समस्या पनि त्यस्तैमध्येको एउटा लाग्यो होला । तर परिवारलाई त्यो कुराले झनै पीडा दिइरहेको छ । 

तेलमा पानी मिसाएको आरोपमा जेल 

महोत्तरीको बर्दिवास कालापानीका भुपराज बुढाथोकी झण्डै चार वर्षअघि साउदी अरब जानुभयो । कम्पनीले १३ महिना काम दिएन । त्यसपछि काम दिएको कम्पनीले फर्किन २३ दिन हुँदा भुपराज पक्राउ पर्नुभयो । 

आरामको कम्पनी, तेल उत्पादन गर्ने तेल, सधैं त्यही काम गर्दै आएका भुपराज त्यो दिन पनि तेल भरिएको ट्याङ्कर लिएर गन्तव्यमा पुग्नुभयो । त्यो गाडीमा लगिएको तेल परीक्षण गरियो ।

परीक्षण गर्ने व्यक्तिले त्यो तेल गुणस्तरहीन भएको बताएपछि तेल लिने कम्पनीले आरामको कम्पनीसँग तेल गुणस्तरहीन हुनुको कारण सोध्यो । तर कम्पनीले त्यो तेल आफूले नपठाएको दाबी गर्‍यो । 

आरामको कम्पनीबाट तेल लोड गरेको सबै कागजात भुपराजसँग सुरक्षित थियो । कागज भुपराजले देखाउनु पनि भयो । तर आरामको कम्पनीले त्यो स्वीकारेन । कम्पनीले जिम्मा नलिएपछि कम्पनीका प्रतिनिधिले प्रहरी बोलाएर भुपराजलाई पक्रिन लगाए ।

घर फर्किन केहीदिन मात्रै बाँकी रहेका बेला भुपराज जेल परेको खबर आएपछि के गर्ने, कसो गर्ने परिवारले सोच्नै सकेन । ‘सुरुमा पार्टीका नेतालाई भन्दा हुन्छ कि भनेर स्थानीय नेतादेखि पार्टीका ठूल्ठूला नेतालाई पनि भेटें तर केही भएन’ टंक भन्नुहुन्छ । 

नेता र पार्टीका कार्यालय धाउँदा उपाय नलागेपछि उहाँ विदेशमा समस्यामा परेका व्यक्तिलाई उद्दार गर्ने ठाउँखोज्दै काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा पुग्नुभयो । 
विभागले टंकलाई कन्सुलर सेवा विभागमा पठाइदियो । कन्सुलर सेवा विभागले सन् २०१८ जुलाई २६ तारिखमा पहिलो पटक भुपराजको बारेमा बुझ्न अनलाइनमार्फत निवेदन लिएको छ । 

त्यही दिन साउदी अरबमा रहेको नेपाली दूतावासलाई भुपराजका बारेमा जानकारी गराउन भनेपछि दूतावासले भुपराज तेलमा पानी मिसाएको आरोपमा पक्राउ परेको जानकारी पाएको जवाफ दिएको छ । 

साउदीको कानुनअनुसार भुपराजलाई ९ महिनाको जेल सजाय हुने जानकारी पाएको दूतावासको भनाई छ । दूतावासले भनेको ९ महिना पुगेको छ । अहिले भुपराजको अवस्था के छ भन्ने बारेमा आफूहरुले केही जानकारी नपाएको टंकले गुनासो गर्नुभयो । 

अहिले टंक कहिले प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा त कहिले कन्सुलर सेवा विभागमा फोन गरेर त्यही गुनासो गरिरहनुहुन्छ । त्यति मात्रै होइन उहाँले साउदी अरबमा रहेको दूतावासमा समेत फोन गरेर बारम्बार यसका बारेमा जानकारी मागिरहनुभएको छ ।

तर आफूले भाइका बारेमा स्पष्ट जानकारी नपाएको गुनासो गर्नुभएको छ । ‘यत्तिका समय भइसक्यो के भइरहेको छ भनेर कहाँ कसले भनिदिन्छ , के हामी यो देशका नागरिक होइनौं’ टंकले प्रश्न गर्नुभयो । 

दूतावासबाट अपडेट भएको छैन : कन्सुलर सेवा विभाग 

कन्सुलर सेवा विभागले भने घटना र सम्बन्धित देशको कानुनअनुसार काम गर्नुपर्ने भएकाले कुनै घटनामा ढिलो हुन सक्ने बताएको छ । यसबारेमा दूतावासले जानकारी गराएपछि आफूहरुले ‘अपडेट’ गर्ने भन्दै दूतावासका एक कर्मचारीले आफूहरुलाई जानकारी आउना साथ परिवारलाई जानकारी गराउने बताएको छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया