धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भोजपुर – जिल्लाकै एकमात्र ठूलो इष्टर्न जलविद्युत् आयोजनाको संस्थापन शेयर जिल्लाबासीका लागि खुला गरिएको छ । भोजपुर नगरपालिकाका वडा नं ५, ६, ७ र ९ प्रभावित क्षेत्रका स्थानीय र जिल्लाभित्रका सर्वसाधारणका लागि शेयर खुला गरिएको हो ।
स्थानीयका लागि प्रति कित्ता १ सय रुपैयाँ र जिल्ला भित्र बसोबास गर्ने सर्वसाधारणका लागि प्रतिकित्ता १ सय ५० रुपैयाँ पर्ने गरि शेयर खुलाइएको छ । आयोजनाको पीपीए अनुसार कूल लगानीको केही प्रतिशत लगानी स्थानीयका लागि अनिवार्य हुने गरी शेयर खुलाइने तयारी भइरहेको आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताउनुभयो ।
जनसम्पर्क अधिकृत राईले भन्नुभयो, ‘सेयरदाताले प्रभु बैंक भोजपुर शाखाबाट ५० कित्तादेखि १० हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । आयोजनाको कूल लगानीमध्ये करिब १० प्रतिशत जति स्थानीयको लगानी हुने गरी पीपीए सम्झौता गरिएको छ । यही अनुरुप आयोजनाको शेयरमा स्थानीयबासीन्दा र जिल्लाबासीन्दालाई विशेष प्राथमिकता दिइएको हो ।’
शेयर खरिदका लागि आयोजनाले आधिकारिक रुपमा प्रभु बैंक भोजपुर शाखाबाट कारोबार सुरु गरेको जनाएको छ । आयोजनाको सम्पूर्ण काम सकिने क्रममा रहेको आयोजनाले जनाएको छ । आयोजनाको ९९ प्रतिशत काम सकिएको छ । आयोजनाको फोरबे, टरबाइन, पावरहाउस, इन्टेकलगायत मेकानिकल, सिभिलको काम सकिए पनि स्ट्रक्चरल बाइन्डिङमा केही फिनिसिङको काम बाँकी रहेको छ ।
आयोजनाको कूल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये प्रभावित क्षेत्रहरुमा कूल ६ करोड २० लाख बराबरको हिस्सामा शेयर दिनुपर्ने प्रावधान रहेको छ । अहिले आयोजनाको विद्युतगुृहदेखि भोजपुर नगरपालिकाको वडा नं ७ र ९ को सिमानामा पर्ने पानीट्याङ्कीसम्म ट्रान्समिटर र ट्रान्सफर्मर राख्ने, पोल गाड्ने, स्विच राख्ने, तार टाँग्नेलगायतका काम भइरहेको इन्जिनियर रोशन साहले जानकारी दिनुभयो ।
आगामी एकहप्ताभित्रै चाइनिज प्राविधिक टोलीले टरबाइन टेस्ट गरेपछि चैत महिनाभित्र सम्पूर्ण विद्युत प्रसारण गर्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युतीकरण सुरु भएको ३५ वर्षपछि यो आयोजना नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।