संसदमा गगन थापाकाे व्यङ्ग्य : सरकारले आफ्नाे मूल नारा 'समृद्ध दमक, सुखी केपी ओली' राखे हुन्छ

 वैशाख २३, २०७६ सोमबार १५:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिनुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा परिर्वतन गरेर 'समृद्ध दमक, सुखी केपी ओली' भन्ने नारा राख्न सुझाव दिनुभएको हो । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । उहाँले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गर्नुभयो । महत्वाकांक्षाविहीन, अभिलाशा शून्य सपनारहित  नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उहाँको तर्क थियो ।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रसंम्सामा मात्रै अल्झिएको टिप्पणी गर्नुभयो ।

उहाँले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिए पनि त्यो लक्ष्य पूरा हुन नसक्नुको कारण विश्लेषण नगरिएको, पूँजीगत खर्च गर्न नसकेको तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको बारेमा नै सरकार स्पष्ट हुन नसकेको दाबी गर्नुभयो । नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको सरकारको उपलब्धिलाई उहाँले सरकारको आत्मप्रशंसा मात्रै भएको टिप्पणी गर्नुभयो । आत्मप्रसंम्साका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपुर्ण, झुटा र भ्रामक भएको दाबी उहाँले गर्नुभयो ।

सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि उहाँले गम्भीर आपत्ति जनाउनुभयो ।

सांसद थापाकाे भनाइ जस्ताकाे त्यस्तै

मेरो केही प्रश्नहरु छ महामहिम राष्ट्रपतिज्यूको सरकारलाई  । यो वर्ष तपाईँको सरकारले संसदलाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिजल्यो ।

के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ? चालु वर्षमा तपाईँको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास गर्यो  । भएको कानुनको दुरुपयोग गर्यो । के यो वर्ष पनि तपाईँको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गर्न उक्साएर राष्ट्रपतिको संस्थालाई बदनाम गराउने काम गर्यो । के यो वर्ष पनि तपाईँको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ? संघीयता कार्यान्वनयका लागि बनाउनुपर्ने संरचना बनाएन, आवश्यक कानुन बनाएन, नियम बनाएन , कर्मचारी पठाएन, स्रोत र साधन मुठ्ठी कसेर राख्यो तर आदेश भने दियो । मुख्यमन्त्रीलाई अञ्चलाधीशजस्तो  स्थानीय तहलाई विभाग जस्तो  व्यवहार गर्यो ।

के यो वर्ष पनि तपाईको सरकारले  यही नीतिलाई निरन्तरता दिनेछ ? भ्रष्टाचार गर्दै गर्दिन, हुन पनि दिन्न, भयाभए विद्यानष्ट भनेर कसम खायो तर एक से एक काण्डहरुमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरिकन पर्ने पहिलेही फैसला सुनाउनुभयो । यो दोषी यो निर्दोषी भनेर ।

के यो वर्ष पनि तपाईँको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ? शासकीय क्षमता बढाउन गर्नपर्ने संरचनागत प्रक्रियागत सुधारहरु केही पनि नगर्ने तर चटकहरुबाट  चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईँको सरकारले गरेको यो वर्षको नीतिलाई आउँदो वर्ष पनि निरन्तरता दिनेछ ? यो महामहिम राष्ट्रपतिज्यूको सरकारलाई यो प्रश्न सोध्न चाहन्छु । 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया