आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढ्यो : तराईमा हुस्सु, ग...
पुस ३, २०८१ बुधबार
नेपाली साहित्याकाशमा केही समयदेखि छाइरहेको गुणस्तरको शून्यतालाई चिर्दै 'शून्य प्रहरको साक्षी' कविता सङ्ग्रह लिएर कवि महेश पौड्याल आएका छन् ।
महेश पौड्याल, कविभन्दा पनि समालोचक, अनुवादक एवं कथाकार भनेर बढी चिनिएको नाम हो । तर १०८ कविता सङ्ग्रहित 'शून्य प्रहरको साक्षी' ल्याएर उनले आफ्नो कविको परिचयलाई सिद्ध गर्नुका साथै सबै पाठकहरूलाई यसको साक्षी समेत बनाएका छन् ।
'शून्य प्रहरको साक्षी' संवेदना, दर्शन, आदर्श र यथार्थको बेजोड सम्मिलन हो । यसभित्रका कविता सटिक छन् तर स्पष्ट छन् । छोटा छन् तर पूर्ण छन् । सरल छन् तर गहन छन् । सभ्य छन् तर व्यङ्ग्यचेतपूर्ण छन् । हरेक कविताका आफ्नै श्रृङ्गार छन् जसबाट नवीन कविताहरू सिर्जना गर्न सकिन्छन्, बहुअर्थी हाङ्गा कविताहरू निकाल्न सकिन्छन् ।
कलात्मक शैलीमा पस्किइएका पौड्यालका हरेक कविताले मृदुल मुटुमा च्वास्स बिझाउँछन् र एक सर्को नवीनतम् विचार सोच्न बाध्य तुल्याउँछन् ।
उनी 'बच्चाको खेल' कवितामा भन्छन्,
बच्चाको खेल भनेर नहियाऊ, काजी !
तिमी नदी किनारमा सत्रपटक
खेलेर पनि बिहेको खेल
कुमार रहिरहन सक्छौ ?
तिमी मध्य दिनमा, मध्य सडकमा
नाङ्गै हिँड्न सक्छौ ?
त्यस्तै अर्को कविता 'जूनकिरी' मा कहन्छन्,
जूनकिरी,
सायद समयले लेख्छ हाम्रो अस्तित्व ।
तिमीले दिनमा जति चम्कन खोजे पनि
आफू चिनिन
रात नै पर्खनुपर्छ ।
पौड्यालका यी कविताहरू आफैमा पूर्ण छन् । यिनले कवितामा उब्जिएका प्रश्नहरूको उत्तर पाठकको जिम्मामा छोडिदिएका छन्। यी उत्तरमा विचार र विमर्श हुन्छ जुन कुराको उत्तर गणीतीय हुँदैन । त्यहाँ सोच र संवेदना भरिएको हुन्छ । समाजका विविध मूल्य मान्यताको माथमा भइरहेको राजनीतिमाथि विचार र भावनाको औँला ठड्याउने सामर्थ्य राख्दछन् ।
मान्छेका संवेदनालाई उजागर पारेर रौं ठाडो पार्न सक्ने खुबी छ पौड्यालका कवितामा । भौतिक रूपमा कोरिएका सिमानाहरूभन्दा धेरै माथि मानवीय संवेदनाका रेखाहरू छन् भन्ने सन्देशसहित रचिएको 'सिमाना' कविता यसको उच्चतम दृष्टान्त हो ।
वाघा सीमानजिकै उभिएर
त्यहाँ कागज जलाइरहेका एकजना वृद्धलाई मैले सोधेँ,
"बा, भारत-पाक सिमाना कहाँ पर्छ?"
उनी मतिर फर्किए, गम्भीर भए
र दाहिने हातको माझ औँलो
मेरो छातीमा राखेर भनेँ, "यहाँ !"
उनका दुवै खुट्टा खरानीमा उभिएका थिए ।
त्यसैगरी, कवि पौड्यालले प्रेम, श्रृङ्गार र करुणाको लयलाई समेत मन छुने किसिमले पस्केका छन् ।
'आँसु र तिमी' कवितामा उनी भन्छन्,
आँखैका डिलबाट तप्प झर्ने
आँसुसँग त संवाद गर्न सकिनँ
र मौन झर्यो
अनुहारको बाटो
टाढाबाट हात हल्लाउने तिमीसँग
के सकुँला
कुनै संवाद गर्न ?
त्यस्तै भाव व्यक्त गर्छ उनको 'आँखाको प्रेम संवाद' कविता ।
एउटा आँखो, अर्कोलाई भन्छ,
"यति नजिक छ्यौ प्रिया
तर मैले संसार देखेँ
तिमीलाई कहिल्यै देखिनँ ।
तर थाह छ-
तिमी रूँदा
मैले पनि सधैँ झारिरहेँ
मौन आँसु ।
त्यो नासिक पर्वतले हामीलाई छेकेर के भो
हाम्रो मायालाई छेक्न सकेन आखिर ।"
अस्तित्वको संवेदनशीलतामा कटिबद्ध कवि पौड्यालले आफ्ना कवितामा बिम्बचेतको उत्तम प्रयोग गरेका छन् । शब्दहरूको उत्कृष्ट चयन, भावमा निखारता, लयमा मिठास, गतिमा एकरूपता उनका कविताका सबल पक्ष हुन् ।
सियो
नाङ्गो हुनु त सियोजस्तो ।
सर्वाङ्ग नाङ्गै छ
तर युगौँदेखि
मानिसको लाज छोप्ने लुगा
सिइरहेछ, निःशब्द ।
जमिन
जमिन नछोड साथी
टेक्ने ठाउँ चाहिन्छ ।
प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र
चराहरू ?
हेर, बादल पनि त घर फर्कन्छ
बर्सात बनेर ।
जमिन नछोड साथी
टेक्ने ठाउँ चाहिन्छ ।
कवि पौड्यालका प्रत्येक कविताहरू हृदयभित्रै प्रवेश गर्छन् । उनका कविताले कसैलाई गाली गर्दैन । तर उनको व्यङ्ग्यचेत बुझ्नेले भने लाजले शिरै निहुराउँछन् । यसरी सभ्य तरिकाबाट असन्तुष्टिहरू माथि प्रहार गर्नसक्नु उनको प्रशंसनीय खुबी हो ।
बुद्ध र म
जन्मँदा ऊ र म ससाना पृथ्वी थियौँ
उसले आफ्ना वरिपरिका पर्खाल भत्काउँदै गयो
र बुद्ध भयो
म आफ्ना वरिपरि पर्खाल लगाउँदै गएँ
र धूलो भएँ ।
हार-जित
सगरमाथामाथि
अर्जुनदृष्टि दागेर अघि बढ्नेहरू
विजयी भए ।
घरि सगरमाथा
र घरि हत्केलाका रेखा हेर्दै
मौसमसँग विलौना गर्नेहरू
पराजित भए ।
महेश पौड्यालका कविताहरू यथार्थ समाजका आँखीझ्याल हुन् । उनका कवितामा समाजका सबैथ तहका मान्छेको उपस्थिति भेटिन्छ । सीमान्तकृतहरूको प्रतिध्वनि सुन्न सकिन्छ । विभिन्न पात्र र परिवेशका माध्यमबाट जीवनको अस्तित्वलाई नजिकबाट नियाल्न सक्नु टापटिपे कुरा होइन । यस अर्थमा पनि उनका कविताहरू सबल छन् ।
पौड्यालको कविता पढ्दा दर्शनको गहिराइमा पुगेको पत्तै हुँदैन । यद्यपि, दर्शनको अधिक प्रयोगले उनका कविता सबैले नबुझ्लान् कि भन्ने पीर भने हुन्छ । त्यसैगरी, सङ्ग्रहमा सङ्ग्रहित कविताहरू, जस्तैय 'जन्मदिन'र 'संविधान' को शीर्षक र विषयको तालमेलमा निकै गहनता भेटिन्छ जुन कुरा जो कोहीले ठम्याउन सक्ने देखिँदैन । यस अलावा, पुस्तकमा रहेका एकाध हिज्जे त्रुटि बाहेक, कुनै ठाउँमा औँला ठड्याउन सकिने ठाउँ भेटिँदैन ।
उनको अघिल्लो कथासङ्ग्रह 'त्यसपछि फुलेन गोदावरी'मा जसरी उनले लेखेका कथाहरू छोटा र सरल छन् तर सार लामो र गहिरो छ, त्यसैगरी छन् उनका यो कविता सङ्ग्रहका कविताहरू । 'त्यसपछि फुलेन गोदावरी'मा जसरी उनले नेपाली समाजको यथार्थ धरातलको चित्रण गरेका थिए, त्यसैक्रमलाई 'शून्य प्रहरको साक्षी'मा समेत निरन्तरता दिएका छन् ।
समग्रमा भन्नुपर्दा कवि महेश पौड्यालद्वारा लिखित 'शून्य प्रहरको साक्षी' कविता सङ्ग्रहले कविता साहित्यको इतिहासमा एउटा नूतन नजिर स्थापना गर्ने कुरामा कुनै दुई मत छैन । विवरण र वर्णनका निरस थुप्रोलाई निरुत्साहित गर्दै विचरण र विमर्शको कलेवर समाई कविता लेखनमा नयाँ धार स्थापित गरेका कवि महेश पौड्यालको यो कविता सङ्ग्रह उनको काव्यिक क्षमताको उत्कर्ष हो भन्दा अत्युक्ति हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पेसाले चिकित्सक भट्ट कला साहित्यमा कलम चलाउनुहुन्छ ।
Deepak
June 29, 2019, 11:23 a.m.समिक्षा सारै राम्रो लाग्यो /