संस्थागत ग्राहकलाई नेपाल टेलिकमको आकर्षक अफर, असीमित कुरा गर्न पाइने

 साउन १७, २०७६ शुक्रबार ८:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले संस्थागत ग्राहकका लागि आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोबाइलमा असीमित कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ । संस्थागत प्रयोगकर्ता समूह (सीयुजी) योजनामा समाहित भएर ग्राहकहरुले यो सेवा उपभोग गर्न सक्नेछन् । 

यसका लागि एउटै कम्पनी, संस्था वा कार्यालयमा कार्यरत कम्तीमा पनि १० जना मोबाइल प्रयोगकर्ता हुनुपर्छ । त्योभन्दा बढी संख्याका मोबाइल प्रयोगकर्ताहरुले पनि यो सुविधा उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ । हाल चलिरहेको मोबाइल नम्बर वा नयाँ नम्बर लिएर पनि यस सेवामा आबद्ध हुन सकिन्छ । 

यस योजनामा आबद्ध संस्थागत प्रयोगकर्ताहरुले आफ्नो समूहभित्रका मोबाइल नम्बरहरुमा निःशुल्क असीमित कुराकानी गर्न सक्छन् । त्यसैगरी सीयूजी सेवामा आबद्ध समूहका नम्बरबाहृक नेपाल टेलिकमका अन्य नम्बरहरुमा प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेजसम्म भ्वाइस, डाटा र एसएमएस  निःशुल्क प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी कम्पनी तथा दूरसञ्चार सेवा उपलव्ध गराउने अन्य सेवा प्रदायकको मोबाइल तथा आधारभूत फोनमा समेत प्याकेजमा उपलब्ध गराइएको समय सीमासम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । कर्पोरेट ग्राहक सेवा लिनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राख्न सकिन्छ । 

टेलिकमकाअनुसार जीएसएम÷सीडीएमए प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुने गरी २ सय रुपैयाँको संस्थागत प्याकेज उपलब्ध छ । यो सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न र ५० वटा सन्देश पठाउन सक्नेछन् । यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको डाटा चलाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने छ । 

प्रिपेड वा पोष्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँका प्याकेजहरु उपलब्ध छन् । ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी गर्न, ३ सय एमबीको डाटा चलाउन र १ सय वटा एसएमएस पठाउन सकिन्छ । साथै २० मिनेट कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा कुरा गर्न सकिने छ । 

साथै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा समूह बाहिरका कम्पनीकै फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी गर्न, ८ सय एमबी डाटा चलाउन र सयवटा सन्देश पठाउन तथा कम्पनी र दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ३० मिनेट कुरा गर्न पाइने टेलिकमले जनाएको छ । १ हजार रुपैयाँको प्याकेजमा प्याकेज भन्दा बाहिरका कम्पनीकै नेटवर्कमा ५ सय ५० मिनेट कुराकानी गर्न, १ हजार एमबी डाटा चलाउन तथा डेढसय वटा एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ४० मिनेट कुरा गर्न पाइने छ । 

यसैगरी १३ सय रुर्पैयाँको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी गर्न, २१ सय एमबी डाटा चलाउन, २ सयवटा एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ ।

१६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी गर्न, २७ सय एमबी डाटा चलाउन र २ सय ५० वटा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवा प्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा मिल्ने टेलिकमले जनाएको  छ ।
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया