राजस्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्छ : अर्थ मन्त्री

 भदौ १०, २०७६ मंगलबार १६:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले राजस्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थ मन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपर्ने बताउनु भएको हो ।

मन्त्री खतिवडाले राजस्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुदा यस्तो काम लाई दुरुत्साहन हुनेगरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

बैठकमा पूर्व अर्थमन्त्रीहरुले भने राजस्व चुहावटसम्बन्धी कसुरको दण्ड तथा जरिबानामा फरक-फरक धारणा राख्नु भएको छ । पूर्व अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा भएको दण्ड सजायको व्यवस्थाले उद्योगी व्यवसायी आतंकित भएको भन्दै जरिबाना र जेललाई जोड दिनु भन्दा राजस्व अशुलीलाई प्राथमिकता दिने गरी विधेयकमा व्यवस्था गरिनुपर्ने बताउनुभयो ।

पूर्व अर्थ मन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले राजस्वको ठूलो अपचलन गरेका व्यक्ति जेल बसेर उम्कन सक्ने अवस्था आउन नदिन पनि सचेत हुनुपर्ने भन्दै कसुरअनुसार व्यक्तिलाई जेल र आर्थिक रुपमा दण्डित गर्न सकिने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजस्व चुहावट र अपचलन उद्योगी मात्रैले गर्न नसक्ने भन्दै यस्तो कसुरमा कर्मचारी र राजनैतिक नेतृत्व समेत संलग्न हुने भएकोले तिनै पक्ष दण्डित हुनेगरी कानुनी व्यवस्था गर्न माग गर्नुभयो ।

अर्थ समितिको छलफलमा रहेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमा प्रस्ताव गरिएको व्यवस्थामा व्यवसायीहरुले पनि असन्तुष्टि जनाइरहेका छन् । यसबारे व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण समेत गराईसकेका छन् ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया