सरकारले मलाई मरे मरोस् भनेर सोचेको रहेछ : डाक्टर केसी

 असार ३०, २०७५ शनिबार ६:७:२५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा १५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले सरकारले वार्ता गर्न पनि कन्जुुस्याईँ गरेको बताउनुभएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनसनरत डा.गोविन्द केसीले सत्याग्रहको १४ दिन बितिसकेको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकारले वार्ताका लागि कुनै चासो व्यक्त नगरेको आक्रोश पोख्नुभएको छ । केसीले सरकारले वार्ताको तयारी भन्ने तर अहिलेसम्म वार्ताटोली समेत गठन नगर्ने भन्दै काठमाडौंमा लिएर सडाउने प्रयास भएको भन्दै आक्रोश व्यक्त गर्नु भएको हो ।  

शुक्रबार रगत परीक्षण गर्नका गएका चिकित्सकहरुसँग भावुक हुँदै डा.केसीले भन्नुभयो, ‘मलाई मरे मरोस् भनेर सरकारले सोचेको रहेछ आखिर त्यस्तै हो भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परीक्षण र उपचार  गराउँदिन ।  तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उहाँको भनाइ थियो ।’ 

सरकारले वार्ता गर्न चाहेको खण्डमा डा.केसीका तर्फबाट वार्ता गर्ने टोली काठमाडौ रहेको छ । काठमाडौ आएपछि मात्रै वार्ता हुनसक्छ भन्नु सरकारको आफूलाई झुक्याउउने चाल रहेको डाक्टर केसीले बताउनुभएको छ । 

सत्याग्रहको १४ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था भने बिग्रँदै गएको छ । विगतका अनसनको तुलनामा  जुम्लाको चिसो मौसम र हाई अल्टिच्यूडका कारण नयाँ–नयाँ समस्याहरु देखिन थालेको चिकित्सकहरुले बताएका छन् । 

मुटुको चालमा त्यति समस्या नदेखिए पनि गति असामान्य रहेको छ । कोल्टे फर्कँदा वा हलचल गर्दा मात्रै पनि मुटुको गति एक सय भन्दा माथि पुग्ने गरेको डाक्टरहरुले बताएका छन् । सुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोशिकाको संख्या हिजोको रगतको रिपोर्ट अनुसार ४ हजार भन्दा कम भइसकेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसारडा.केसी विभिन्न खाले संक्रमणको उच्च जोखिममा रहनु भएको छ । चिकित्सकहरुका अनुसार  अझ यस्तो चिसो मौसममा यदि  सामान्य रुघाखोकी र ज्वरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ ।

यसैगरी कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । पिसाबमा केटोन बडी अत्याधिक देखिन थालेको छ । यसैगरी अनसनको  पहिलो दिनको तुलनामा डा.केसीको तौल ९ केजी घटिसकेको चिकित्सकले जनाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया