गाजामा ३ घण्टा ढिलो गरी युद्धविराम शुरू
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रिय सभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ ।
सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले संशाेधनसहित सर्वसम्मत पारित गरेको हो ।
यसअघि विधेयकमाथि १३ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संशाेधन प्रस्तावमा संयुक्त संशोधनकर्ताको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अरु प्रस्ताव फिर्ता लिनुभएको थियो । अर्का संशाेधनकर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।
यस्तो छ विधेयकमा व्यवस्था:
बदलियो बसाइँसराइँको परिभाषा
प्रतिनिधिसभाबाट पारित भएको विधेयकले बसाइँसराइँको परिभाषा पनि बदलिदिएको छ । पहिले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा मात्रै बसाइँसराइँ गरेको मानिने भनिएको भए पनि अब एउटै स्थानीय तहको एउटा वडाबाट अर्को वडामा जाँदा पनि बसाइँसराइँ गरेको मानिने छ ।
साथै एक सय असी दिनभन्दा बढी अवधिको लागि एक ठाउँबाट अर्को ठाउँमा गएको भए पनि त्यसलाई समेत बसाइँसराइँको रुपमा लिने विधेयकले व्यवस्था गरेको छ ।
विदेशमा बसाइँ सरेर जाने वा विदेशबाट बसाइँ सरेर आउने कार्यलाई समेत जनाउने व्यवस्था विधेयकमा छ ।
सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार राष्ट्रिय परिचयपत्र
अबदेखि सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार राष्ट्रिय परिचयपत्रलाई लिइने छ । यो भएपछि अन्य कागजात खासै आवश्यक नपर्ने विधेयकमा उल्लेख छ ।
कुनै प्रयोजनका लागि जारी भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भइसकेपछि अन्य कागजात आवश्यक पर्दैन । राष्ट्रिय परिचयपत्रमा नाम, थर, जन्ममिति, लिंग, राष्ट्रियता, परिचय नम्बर, फोटो, परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी, स्थायी ठेगाना, नागरिकताको किसिम र नागरिकता नम्बर देखिने गरी उल्लेख गरिनेछ ।
यसका साथै राष्ट्रिय परिचय पत्रमा बुवा, आमा, बाजे बज्यै, पति, पत्निका साथै सरकारको कुनै कार्यालय वा निकायमा रहेको व्यक्तिको योग्यता, पेशा, व्यवसाय, आय, स्वामित्वसम्बन्धी व्यक्तिगत विवरण पनि राखिने छ ।
विदेशी र गैरआवासीय नेपालीलाई छुट्टै परिचयपत्र
गैरआवासीय नेपाली तथा विदेशीलाई पनि राष्ट्रिय परिचय पत्र उपलब्ध गराइने छ । उनीहरुको पेशा र व्यवसायका आधारमा छुट्टै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने भएको हो । तर नेपाल भ्रमणमा केही दिनका लागि मात्रै आउने विदेशीलाई भने परिचयपत्र उपलब्ध गराइनेछैन ।
तोकिएको अवधिभन्दा बढी बसोबास गर्ने विदेशीलाई तोकिएको तस्तुर लिने र त्यही अनुरुप परिचयपत्र दिइने विधेयकमा उल्लेख छ ।
आवेदन दिएको दुई वर्षपछि परिचयपत्र
राष्ट्रिय परिचय पत्र आवेदन दिएको दुई वर्षपछि मात्रै पाइने छ ।
परिचय पत्र लागू भएको जिल्लामा बसोबास गर्ने र त्यसरी परिचयपत्र लागू हुँदाका बखत सोह्र वर्ष उमेर पुगेका व्यक्तिले त्यो जिल्लामा लागू भएको मितिले दुई वर्षभित्र परिचयपत्र प्राप्त गर्नेछन् ।
यस्तै परिचयपत्र लागू भएपछि सोह्र वर्ष उमेर पुग्ने व्यक्तिले पनि उमेर पुगेको मितिले दुई वर्षभित्र परिचयपत्र प्राप्त गर्नका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । उमेर पुगेका व्यक्तिले उमेर पुगेको दुई वर्षभित्रमा परिचयपत्रका लागि निवेदन नदिए पछि परिचयपत्र लिने बेला विलम्ब दस्तुर लाग्नेछ ।
अहिले नागरिकता लगायतका परिचयपत्रमा दुवै हातको बुढी औँलाको छाप लगाउने गरिएको छ । तर राष्ट्रिय परिचयपत्रमा भने दुवै हातका दस वटै औँलाको विद्युतीय छाप राखिने छ । औँला नभएका व्यक्तिको हकमा भने त्यसको व्यहोरा खुलाएर परिचयपत्र दिने व्यवस्था विधेयकले गरेको छ ।
कसूर तथा सजाय
झूटो विवरण पेश गरेर राष्ट्रिय परिचयपत्र लिने व्यक्तिलाई कैद र जरिबानाको पनि व्यवस्था छ ।
राष्ट्रिय परिचय पत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्तिका लागि झूटा विवरण पेश गर्ने वा त्यसको लागि गलत वा झूटा कागजात तयार गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र बीस हजारदेखि पचार हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरेको छ । विधेयकको दफा ४२ को (ग) ले यस्तो कसूर सजायको व्यवस्था गरेको हो ।
यस्तै परिचय पत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रको नक्कल वा किर्ते गर्नेलाई पनि सजायको व्यवस्था छ । यस्तो कसूर गर्नेलाई प्रचलित कानुन बमोजिम जालसाजी वा किर्ते गरेबापत हुने सजायमा थप पच्चीस प्रतिशत सजाय हुनेछ ।
यस्तै झूटो विवरण हो भन्ने थाहा हुँदाहुँदै परिचयपत्र दिने व्यक्तिलाई पनि सजायको व्यवस्था गरिएको छ । त्यस्तालाई दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्मको जरिबाना वा दुवै सजायको व्यवस्था छ ।
याे पनि हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।