परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क प्रस्थान

 असोज ५, २०७६ आइतबार ७:५८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि हुनुहुन्छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट र सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, प्रधानमन्त्रीका सञ्चार संयोजक चेतन अधिकारीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीसहित सरकारी अधिकारीले बिदाइ गर्नुभयो । 

७४ महासभामा ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ विषयमा छलफल हुनेछ । मन्त्री ज्ञवालीले महासभालाई असोज १३ गते सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी परराष्ट्रमन्त्रीले असोज ९ गते दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को अनौपचारिक बैठकको अध्यक्षता गर्नुहुनेछ ।

महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहँदा प्रतिनिधिमण्डलका नेता ज्ञवाली जलवायु परिवर्तनका कारण उत्पन्न असर र प्रभावसम्बन्धी शिखर बैठकका साथै दिगो विकासका लागि राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च र ‘राष्ट्रसङ्घीय विकासका लागि लगानी संवाद’ विषयक बैठकमा समेत सहभागी हुनुहुनेछ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली विविध विवाद समाधानका निम्ति गठित मन्त्रीस्तरीय संयन्त्र अर्थात् राष्ट्रसङ्घीय मध्यस्थकर्ता मैत्री समूह, शान्तिकार्य सम्बन्धी उच्चस्तरीय संवाद तथा महासभाका अध्यक्षको सभापतित्वमा आयोजना हुने बालअधिकार अभिसन्धि अनुमोदन भएको ३०औँ वार्षिकोत्सवको स्मरणात्मक उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यक्रम छ । मन्त्री ज्ञवालीले असंलग्न आन्दोलन (नाम), जी ७७ र चीन, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख देशको मन्त्रीस्तरीय बैठकलाई बेग्लाबेग्लै सम्बोधन गर्नुहुनेछ भने एशियाली सहयोग संवाद (एसिडी) को बैठकमा पनि नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

महासभामा भाग लिने सिलसिलामा नै मन्त्री ज्ञवाली विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्तामा व्यस्त हुनुहुनेछ भने संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । मन्त्री ज्ञवालीले अमेरिकामा रहेका प्रवासी नेपाली समुदायसँग असोज ९ गते न्यूयोर्कमा र १२ गते इलोनोइ राज्यको राजधानी सिकागोमा संवादमूलक बौद्धिक लाभ सम्बन्धमा अन्तरक्रिया गर्नुहुनेछ ।

यसअघि महासभाकै सिलसिलामा हुने विश्वव्यापी स्वास्थ्य सरोकार बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र जलवायु परिवर्तनसम्बन्धी अर्को उच्चस्तरीय बैठकमा सहभागी हुन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत न्यूयोर्क प्रस्थान गरिसक्नुभएको छ । दिगो विकाससम्बन्धी बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका २ सदस्य पनि शनिबार नै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया