'स्पष्ट विचार र व्यवहार नभए नेकपाकाे हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ'

 असोज ६, २०७६ सोमबार १३:३६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको आधार निर्माण गर्न पार्टीभित्र वैचारिक स्पष्टताको आवश्यकतामा जोड दिनुभएको छ । 

अध्यक्ष दाहालले वैचारिक स्पष्टता र त्यसअनुसारको व्यवहार, आचरण, क्रियाकलाप र जीवनचर्या नभए पार्टीको हालत पनि पूर्वी युरोपका कम्युनिष्ट पार्टीहरुको जस्तै हुने स्पष्ट पार्नुभयो ।

नेपाली महिला आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको पाँचौँ स्मृति दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले देशलाई समाजवादको बाटोमा अघि बढाउन एउटा फौजी आन्दोलन आवश्यकता रहेको बताउनुभयो । 

‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन । त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ अध्यक्ष दाहालले भन्नुभयो, ‘त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वी युरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ ।’ अध्यक्ष दाहालले समाजवादको आधार निर्माणका लागि कुरा होइन, कामै गरेर देखाउने बेला आएको पनि बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले महिला नेतृ सहाना प्रधानको सपनालाई पूरा गर्न पार्टीभित्र महिला समानताको पक्षमा अझै लडाइँ गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको संरचनामा पनि महिलाहरुको समान सहभागिता गराएर मात्रै नेतृ प्रधानको सपनालाई साकार पार्न सकिने उहाँको भनाइ थियो ।

तत्कालीन नेकपा एमालेकी नेतृ प्रधानले नेपालको महिला आन्दोलन, नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा महत्पूर्ण योगदान पुर्‍याउनु भएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया