हमासले पहिलो चरणमा रिहा हुने तीन जना इजरायली बन्धकको नाम स...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाल बार एसाेसिएशनका महासचिव लिलामणि पौडेलले कृष्णबहादुर महरा प्रकरणको अनुसन्धानलाई अन्तै मोड्न खोजिएको आशंका व्यक्त गर्नुभएको छ ।
उहाँले महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्नु पर्ने माग पनि गर्नुभयो । पौडेलले घटनाबारे पहिलो सूचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको भन्दै अनुसन्धान अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पौडेलले पीडित भनिएकी महिलाले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियाेमा नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको बताउनुभयाे । महराले स्वयंले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उहाँको टिप्पणी छ ।
महरा प्रकरण नेपालको राजनीतिक इतिहासमै अनौठो घटना भएको पनि उहाँले सुनाउनुभयो । पीडित भनिएकी महिलाको अभिव्यक्ति फरक-फरक आएकोले बलात्कार भएको हो कि होइन भन्ने कुराको अनुसन्धान हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘बलात्कार भएको हो कि होइन भन्ने कुरा अनुसन्धानबाट मात्रै थाहा हुन्छ’, पीडित भनिएकी महिलाले जाहेरी नदिए पनि उनले नै हटलाइनमा सम्पर्क गरेर घटनाको बारेमा जानकारी गराएकोले प्रहरीले अनुसन्धान अगाडि बढाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन ।’ पौडेलले पीडित भनिएकी महिलाले बयान बदले उनलाई पनि कारबाही गर्नु पर्ने बताउनुभयो ।
यस्तै अधिवक्ता टिकाराम भट्टराईले यो प्रकरणमा पीडित भनिएकी महिलामाथि अविलम्ब अनुसन्धान गर्न माग गर्नुभयो । ‘महिलाको अघिल्लो बयानले महरामाथि अनुसन्धान हुन्छ, तर, पछिल्लो बयानले महिलामाथि नै अनुसन्धान सुरु गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनुपर्छ ।’
अधिवक्ता भट्टराईले उनले मन लाग्यो भन्दैमा कसैको इज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाउने स्पष्ट पनि पार्नुभयो । महिलाले आफू डिप्रेसनको बिरामी भएको भने पनि त्यो पत्यारलाग्दो नभएको उहाँले बताउनुभयो । ‘यदि उनैले भनेजस्तो हो भने मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘होइन भने शाहीको भनाइलाई पनि अनुसन्धान गर्नुपर्छ ।’
महरामाथि लागेको आरोप पुष्टि भए कसुरअनुसार सजाय हुने पनि उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘यौन दुर्व्यवहार, गालीगलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको मुद्दामा अधिकतम १५ वर्षसम्म सजाय हुन्छ, सामान्य यौन दुर्व्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ ।’
संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले सभामुख पद रिक्त भएसँगै अब बहुदलीय प्रणाली अनुसार सभामुख र उपसभामुख फरक-फरक दल र फरक लिङ्गको हुने गरी व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
उहाँले यो प्रकरणमा ‘फर्स्ट इन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गरेर अनुसन्धानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । पीडित भनिएकी महिलाले अलग-अलग अभिव्यक्ति दिए पनि पहिलो सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्नुपर्ने उहाँको सुझाव छ । अहिले पीडित भनिएकी महिलाले बयान फेरेको कुरालाई उहाँले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताउनुभयो । यदि यो प्रकरणमा महराले क्लिन चिट पाए उनको सांसद पद भने सुरक्षित रहने ज्ञवालीले बताउनुभयो ।
निर्दोष सावित भए सांसद पद सुरक्षित हुने र त्यसपछि पुनः सभामुखको निर्वाचनमा पार्टीले उम्मेदवार बनाएर फेरि सभामुख बन्न सक्ने व्यवस्था रहेको पनि उहाँले खुलाउनुभयो । उहाँले महिलाको बाहिर आएको पहिलो भिडियोको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताउँदै यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए ती महिलालाई नै साइबर क्राइमको मुद्दा चलाएर कारबाही गर्नु पर्ने बताउनुभयो ।
यदि पीडित भनिएकी महिलालाई कसैले धम्की दिएर बयान फेर्न लगाएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे प्रहरीले अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एसाेसिएशनकी महासचिव लक्ष्मी दाहाल रावलले महरामाथिको आरोप उनको व्यक्तिगत चरित्रहत्यासँग मात्रै जोडिएको नभइ देशकै इज्जतसँग जोडिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो त सभामुखको चरित्रहत्या मात्रै होइन, देशको बेइज्जत भएको छ । आरोपको आधार हेरेर कारबाही हुनुपर्छ ।’ उहाँले सत्ता र शक्तिको आडमा घटनालाई मोड्न नहुने भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न प्रहरीको ध्यानाकार्षण गराउनुभयो । उहाँले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाइएको हो भने त्यसको भरपाई हुने न्याय दिलाउनु पर्ने बताउनुभयो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।