बैतडीकाे दशैँ: सामूहिक रुपमा मन्दिरमै जमरा र टीका

 असोज १७, २०७६ शुक्रबार १५:३:२५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा अन्य जिल्लाहरुमा भन्दा फरक तरीकाले दशैँ मनाइने परम्परा छ ।

दशैँको पहिलो दिन घटस्थापनासँगै विभिन्न शाक्तिपीठहरुमा सामूहिक पूजाआजाको लागि भक्तजनहरुकाे घुइँचाे लाग्छ । देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन भए पनि बैतडीमा भने मन्दिरहरुमा सामूहिक रुपमा जमरा राख्ने चलन रहिआएको छ ।

यसपाला पनि त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी तथा मेलौली भगवती मन्दिरहरुमा सामूहिक रुपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, केदारलगायतका मन्दिरहरुमा पनि सामूहिक रुपमा जमरा राखिएको छ । दशैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको सुर्नया गाउँपालिका-६ का हरिदत्त अवस्थीले बताउनुभयो ।

यसरी मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि चलिआएको र यसले सामाजिक सद्भाव बढाउन सहयोग पुर्‍याउने निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले जानकारी दिनुभयो । सामूहिक रुपमा जमरा राख्ने चलनले समाजलाई एक ठाँउमा जोडेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिनुभयो । 

बडादशैँको अवसरमा नवरात्री उपसना गरेर पूजाआजा गर्ने चलन रहिआएको छ । नवरात्रीमा शक्तिपीठहरुमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको कारण सामूहिक पूजाआजा गरिने प्रचलन चलेकाे हाे । दशैँको समयमा सामूहिक पूजापाठ गरिने र परिवारजनसँग पनि भेट हुने भएकाले घर बाहिर भएका, बसाइसराइ गरेर गएकाहरु पनि घर फर्कने गरेका छन् ।

यसरी विभिन्न कारणले गाउँ घरबाट टाढा गएकाहरु सम्झेर आउँदा गाउँघर नै रमाइलो हुने गरेको दशरथचन्द नगरपालिका-३ का धनबहादुर क्षेत्रीले बताउनुभयो ।

घटस्थापनाको दिनदेखि बडादशैँको दिनसम्म नवरात्री उपवास बसेर बडादशैँको दिन मन्दिरमा गएर पुजारीबाट सामूहिक रुपमा जमरा र प्रसाद ग्रहण गरेपछि औपचारिक रुपमा दशैँ समाप्त हुन्छ।

तर पछिल्लो समयमा भने नयाँ पुस्ताले यी कुराहरुमा ध्यान नदिँदा परम्परागत संस्कृति लोप हुने चिन्ता रहेकाे स्थानीयहरु बताउँछन् ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया