दिउँसै चितुवाको डर, जनप्रतिनिधिले गुनासो सुनेनन्

 असार ३२, २०७५ सोमबार ११:१२:१४ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – बैतडीको तल्लो सोराडमा चितुवाको त्रास बढेको छ । राती बाहिर जान त परको कुरा, दिनमा घरमा एक्लै बस्न पनि डर लाग्ने स्थानीयबासिन्दा बताउँछन् । सात वर्ष यता मात्रै तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गैसकेको छ भने दजर्नौं घाइते भएका छन् । तर चितुवा नियन्त्रणको लागि सम्बन्धित निकायले चासो नदिंदा स्थानीयबासिन्दा त्रासमा दिन बिताउन बाध्य छन् ।

बैतडी जिल्लालाई चितुवा प्रभावित जिल्ला भनेर भन्ने गरिन्छ । विशेषगरी तल्लो स्वराडमा पर्ने मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका लगायतका स्थानीय तहमा अहिले चितुवाको त्रास कायमै छ ।

मेलौली नगरपालिकाको वडा नम्बर ८ र ९ मा मात्रै अहिलेसम्म झन्डै एक दर्जनको चितुवाको कारण ज्यान गैसकेको छ । त्यति नै संख्यामा घाइते भएका छन् । घाइतेहरुलाई राहत त परको कुरा, जिल्ला वन कार्यालयले उनीहरुको तथ्याङ्क समेत सङ्कलन गर्न सकेको छैन् । आफूजस्ता धेरै घाइते र चितुवा पीडित परिवारले राहत समेत नपाएको मेलौली नगरपालिका–९, असुरकी ४२ वर्षीया कुन्धादेवी भट्टले बताउनुभयो ।

राज्यसँग सुरक्षाको लागि पटकपटक हारगुहार गरे पनि कुनै चासो नदिएको स्थानीयबासिन्दाको गुनासो छ । चितुवाको आक्रमण बढ्न थालेपछि बालबालिका विद्यालय जानबाट बञ्चित हुनुका साथै स्थानीयबासिन्दाको दैनिक कामकाज समेत प्रभावित हुने गरेको छ । एक्लै जंगलमा घाँस दाउरा गर्न जान नसक्ने स्थानीयबासिन्दा बताउँछन् ।

चितुवा नियन्त्रणको झिनो प्रयास

२०७३ साल भदौ महिनामा चितुवा वस्तीमा पसेर आतंक मच्चाउन थालेपछि स्थानीयवासिन्दाले सुरक्षाको माग गरे । चितुवाले लगातार तल्लोसोराडको उदयदेवमा दुई बालिकाको ज्यान लिएपछि १५ जना प्रहरी हतियार सहित चितुवा मार्ने भनेर परिचालन गरिए । तर चितुवा मार्न त के देख्न समेत सकेनन् । अन्त्यमा टोली त्यसै फर्कियो ।

अघिल्लो वर्ष पनि चितुवाले आतङ्क मच्चाएपछि नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली खटिए । तर त्यो टोली पनि केही गर्न सकेन ।

चितुवा प्रभावित क्षेत्रमा बिजुली नहुँदा समस्या भएको गुनासो आएपछि जिल्ला वन कार्यालयले २ सयभन्दा बढी सोलार सेट वितरण गर्यो । तर त्यो पनि पहुँचको भरमा वितरण भयो भनेर धेरै चितुवा पीडितले गुनासो गरे ।

चितुवा नियन्त्रणको लागि स्थानीयबासिन्दाले पटक पटक स्थानीय सरकारलाई गुहारेका छन् । तर सुनुवाई भएको छैन । उल्टै जनप्रतिनिधिले देउताको कारण चितुवा लागेको भनेर पन्छिने गरेको मेलौली नगरपालिका ८ का  शम्भु बिष्टले दुःख व्यक्त गर्नु भयो । चितुवा नियन्त्रणलाई चुनावी एजेण्डा बनाएर जनप्रतिनिधिले चुनाव जितिसकेपछि वास्ता नगरेको स्थानीयबासिन्दाको गुनासो छ । 

त्यसो त चितुवा नियन्त्रणका लागि काम नभएका पनि होइनन् । केही दिनअघि मात्रै जङ्गलमा १५ वटा स्वचालित क्यामेरा लगाई चितुवाको फोटो खिचेको र यसबारे अध्ययन भैरहेको अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दले बताउनुभयो । त्यस क्षेत्रमा मान्छेमाथि चितुवाले किन आक्रमण गर्दैछ भन्ने विषयमा आफूले अनुसन्धान गरिरहेको र यसको चाँडै नै सामाधानको उपाय खोजेर चितुवा न्यूनिकरण गर्न सकिने उहाँले बताउनु भयो ।

दीर्घकालिन उपायको खाँचो

चितुवा प्रभावित क्षेत्रमा न्यूनिकरणको लागि दीर्घकालिन उपाय अवलम्बन गर्नुपर्ने अनुसन्धानकर्ता चन्दले बताउनु भयो । कस्तो प्रकृतिको चितुवा छ भनेर पत्ता लगाउने उद्देश्यले वनमा क्यामेरा जडान गर्ने काम भएको उहाँले बताउनु भयो । ‘स्वचालित क्यामेरा जडान गरिएको ३ दिनमा एउटा चितुवा क्यामेरामा कैद भएको छ’ उहाँले भन्नु भयो, ‘यस क्षेत्रमा साँच्चिकै चितुवा रहेको छ भन्ने प्रमाणित भएको छ ।’

पटक पटक चितुवाले मानिसमाथि आक्रमण गरेको हुनाले त्यो चितुवा नरभंक्षी हुन सक्ने चन्दको भनाइ छ । यस विषयमा स्थानीय तहले गम्भीर भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया