नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई राष्ट्रपतिको आग्रह

 असोज २८, २०७६ मंगलबार १३:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानीमा समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नु भएको हो । गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीको भनाइ छ ।

‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित छ,’ मंगलबारदेखि काठमाण्डौमा सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो,‘नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न देशबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई हार्दिक आह्वान गर्दछु ।’

उहाँले गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक  अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराउनुभयो ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैरआवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने पनि जानकारी दिनुभयो ।

२५ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेको तीन दिने यो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया