विप्लव वार्ताप्रति सकारात्मक हुँदा सरकार भन्छ अहिले वार्ता हुनै सक्दैन

 कात्तिक ७, २०७६ बिहीबार १९:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारसँग वार्तामा बस्न पहिलो पटक सकारात्मक देखिए पनि सरकारले भने अहिले वार्ता हुनै नसक्ने स्पष्ट पारेको छ ।  

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तत्काल वार्ता नहुने बताउनुभएको हो ।  

गएको साता मात्रै ‘विप्लव’ नेतृत्वको नेकपाले पहिलो पटक वार्ताका लागि आफूहरु सकारात्मक रहेको औपचारिक निर्णय गर्दै जानकारी गराएको थियो । पश्चिम क्षेत्रमा बसेको भनिएको प्रतिबन्धित ‘विप्लव’ नेतृत्वको पार्टीको आठौँ पूर्ण बैठकले इमान्दारसाथ प्रस्तुत भए सरकारसँग वार्तामा बस्न आफूहरु तयार रहेको निर्णय गरेको थियो ।  

यसअघि उसले आफूहरुलाई सरकारले वार्ताको लागि औपचारिक आह्वान नै नगरेको भन्दै औपचारिक आह्वान भए मात्रै वार्ताको बारेमा सोचिने बताउँदै आएको थियो ।  

पछिल्लो समय सरकार ‘विप्लव’ समूहप्रति कडाइका साथ प्रस्तुत हुँदै धमाधम नेता कार्यकर्ता पक्राउ गर्न लागेपछि ‘विप्लव’ नेतृत्वको नेकपा वार्ताप्रति सकारात्मक बन्न पुगेको हो । गएको ३० गते दाङको राजपुर गाउँपालिका–४, स्थित मुंग्रेठाको जंगलबाट बैठक बसिरहेका बेला ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द (वीरजंग)सहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको थियो । 

योसँगै ४३ जिल्लाका जिल्ला इन्चार्जसहित १ सय ४८ जना नेतृत्व तहका नेताहरुलाई पनि प्रहरीले विभिन्न समयमा पक्राउ गरिसकेको छ । आफ्ना धेरैजसो नेता कार्यकर्ता पक्राउ पर्न थालेपछि ‘विप्लव’ नेतृत्वको नेकपा वार्ताका लागि पहिलो पटक सकारात्मक देखिएको थियो ।  

तर उसले वार्ताका लागि भने आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई निःशर्त रिहा गर्नु पर्ने शर्त अघि सारेको छ । तर बिहीबार सरकारका प्रवक्ता बाँस्कोटाले अहिले ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउन नसकिने र तत्काल वार्ता पनि नहुने बताउनुभयो । 

हिंसा छाडेर शान्ति रोजेमात्रै विप्लवसँग वार्ता गरिने पनि उहाँले स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लवको कदम राष्ट्रघाती भएको भनदै हिंसा छोडेर संविधान मानेमा अन्य कुराहरु गर्नै नपर्ने बताउनुभयो । विप्लव नेतृत्वको नेकपाले हिंसा छाड्यौँ, शान्ति रोज्यौँ भनेर आए वार्ता हुने नभए शर्त तेर्सयाएर बसे बार्ता हुन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

विप्लव समूहले वार्ताका लागि सारेका शर्तको कुनै अर्थ नरहेकाले र बिनाशर्त हिंसा छाड्नुपर्ने बताउनुभयो । उहाँले अब जाँतो घुमाएको जस्तो कुरा नघुमाउन र संविधानको दायराभित्र रहेर राजनीति गर्न पनि विप्लव समूहलाई आग्रह गर्नुभयो ।

विप्लव समूहका सबै क्रियाकलाप राष्ट्रघाती भएकाले चन्दा उठाउन, अपहरण गर्न र मान्छे मार्न पाउनुपर्छ भन्ने माग पूरा गर्न सरकारले कल्पना पनि गर्न नसक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया