पोखरामा दाइँ महोत्सव : पर्यटक र युवा पुस्तालाई परम्परागत कृषि...
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - भारतले एकतर्फी रुपमा नेपालको भूमि आफ्नो दावी गर्दै निकालेको नक्साप्रति नेताहरुले विरोध जनाउँदै तत्काल सम्वादमार्फत सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
भारतले एक साताअघि प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरालाई राखेपछि त्यसको देशव्यापी विरोध भइरहेको छ । भारतले जारी गरेको नक्सामा कालापानी, लिम्पियाधुरा राखिएको र त्यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओलीले शनिबार सर्वपक्षीय भेला डाक्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद, परराष्ट्रविद तथा विभिन्न राजनीतिक दलका नेताहरुले कालापानी नेपालको रहेकोमा कुनै विवाद नरहेको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका थिए ।
नेपाली भूमि फिर्ताका लागि तत्काल पहल गर्न सत्तारुढ नेकपाकै नेताहरुसहित प्रमुख विपक्षी कांग्रेस लगायतका दल र विद्यार्थी संगठनहरुले दबाब दिइरहेका छन् । सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।
तर बैठकमा सहभागीहरुले सरकारले वक्तव्यवाजी मात्रै गरेर नहुने त्यसका लागि तत्काल उच्चस्तरीय बैठक मार्फत नै समस्या समाधानको बाटो खोज्न सुझाव दिएका छन् ।
सरकारले लिएको अडान सही रहेको भन्दै सहभागी नेताहरुले वक्तव्य निकालेर मात्रै नहुने र छलफलका क्रममा रहेको विषयलाई भारतले किन यस्तो गर्यो भनेर प्रश्न सोध्नुपर्ने आवश्यकता पनि औंँल्याएका थिए ।
भारतले कालापानीमा राखेको सेना फिर्ता पठाउन सरकारले भूमिका खेल्नु पर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको राप्रपाका अध्यक्ष कमल थापाले बताउनुभयो ।
नेपालको सीमा क्षेत्रमा आफ्नो उपस्थिति जनाउने र त्यहाँ रहेको भारतीय सेना फिर्ता पठाउन सरकारले तत्काल कदम चाल्न बैठकमा सहभागीहरुले सुझाव दिएको बैठकबाट बाहिरिने क्रममा थापाले बताउनुभयो ।
यस्तै फेरि पनि अध्ययन टोली बनाउने वा सचिवस्तरीय टोली बनाउने हो भने यो समस्या यसै रहिरहने भएकाले दुवै देशका प्रधानमन्त्री स्तरमा नै बैठक बसेर टुंगो लगाउनु पर्छ भन्ने सुझाव पनि प्रधानमन्त्रीलाई सहभागीहरुले दिएका छन् ।
‘अब लिपुलेक, कालापानी, लिम्पियाधुराको समस्या समाधान गर्न ढिला गर्न नहुने र त्यसका लागि प्रधानमन्त्री दृढ भएर प्रस्तुत हुनुपर्ने सुझाव दिएका छौँ’, बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भन्नुभयो, ‘प्रधानमन्त्री पनि कसरी हुन्छ समस्या समाधान गर्न चाहनुभएकाले अब यो समस्या यसै रहिरहन्न होला ।’
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संघीय समाजबादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, मन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्री, सीमाविद लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्याे ।
भारतले एक साताअघि सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३७२ वर्गकिलोमिटर भूभाग पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।