काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काभ्रे – पाँच पटक टेन्डर निकाले पनि कोही टेन्डर हाल्न नआएपछि आफै कर उठाउँदै आएको नमोबुद्ध नगरपालिकाको ‘ढाट’ मा अनियमिता भएको खुलासा भएको छ ।
नमोबुद्ध नगरमा राखिएको ढाटबाट गाडीलाई एउटा बिल तथा नगरमा अर्काे बिल बुझाएको भेटिएको हो । नगरपालिकाले तोकेको मापदण्डअनुसार सेवाग्राहीसँग लिने तर नगरपालिकामा बुझाउँदा कम रकमको अर्धकट्टी बुझाउने गरेको खुलासा भएको छ ।
सेवाग्राहीसँग तीन हजार रुपैयाँ लिए पनि नगरपालिकामा बुझाउँदा एक हजार रकम मात्र उल्लेख भएको भर्पाइ भेटिएको छ ।
नगरपालिकाले पास गरेको आर्थिक ऐनमा उल्लेख भएअनुसारको ढुङ्गा, गिट्टी, बालुवा, स्लेट र रोडा प्रति क्युफिट ९ रुपैयाँ, माटोको प्रति क्युफिट दुई रुपैयाँ ५० पैसा, स्लेट र बिछ्याउने ढुङ्गाको प्रति क्युफिट ९ रुपैयाँ लिने निर्णय गरेर नगरपालिका आफैले ढाट राखेर कर उठाउँदै आएको थियो ।
यो दरअनुसार सामान्य गाडीमा सामान ल्याउँदा पनि दररेट अनुसार एक हजार पाँच सय रुपैयाँ पर्छ । तर ठूला टिप्परहरुलाई तीन हजार रुपैयाँ लिने गरे पनि नगरपालिकामा बुझाएको रसिदमा भने एक हजार जनाएर बुझाएको रसिद भेटिएको छ ।
एउटै नम्बर, एउटै बेहोरा तर गाडी नम्बर फरक र रकम फरक राखेर नगरपालिकामा बुझाएको प्रमाण प्राप्त भएको छ । नमोबुद्ध नगरबाट मात्र दैनिक एक सय भन्दाबढी टिप्पर गुड्ने गर्छन् ।
कार्यपालिकाको पुस २७ गते बसेको बैठकमा वडाध्यक्षहरुले राजश्व सङ्कलनमा हिनामिनासम्बन्धी प्रश्न उठाएपछि नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ढाटमा खटिएका कर्मचारी कमल कुईंकेललाई बोलाएर सामान्य सोधपुछ गर्नु भएको बुझिएको छ । तर सोधपुछ भए पनि कसैलाई पनि जानकारी नगराएको नमोबुद्ध नगरले पत्रकारहरुले थाहा पाएर बिल ट्याली गर्न मागेपछि मात्र नगरले ‘एक्सन’ लिएको थियो ।
पत्रकारहरुले खोजी गरेपछि नगरप्रमुखले ढाटमा अनियमितता भएको विषयमा छानबिन गर्न लागेको बताउनु भयो । नगर प्रमुख शर्माले अनियमितता भएको कुरा आएपछि ढाटमा बस्ने कर्मचारी नै परिवर्तन गरेको जानकारी दिनुभयो ।
गएको वर्ष चार करोड रुपैयाँमा ठेक्का दिएको नगरपालिकाले यस वर्ष ६ करोड रुपैयाँमा ठेक्का दिन सूचना निकालेको थियो । ६ करोड रुपैयाँ राखेर पटक पटक सूचना निकाल्दा पनि कोही हाल्न नआएको भन्दै नगर आफैले ढाट राखेर राजश्व उठाउँदै आएको थियो । यो वर्ष ६ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको नगरले ६ महिना बित्दा एक करोड ९४ लाख रुपैयाँ सङ्कलन भएको जनाएको छ ।
अनियमितता छानबिन गर्न समिति
ढाटमा अनियमितता भएको भन्दै सत्य, तथ्य छानबिन गर्न नगरपालिकाले आर्थिक समितिका संयोजक रामकृष्ण अधिकारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा वडाध्यक्षहरु धर्म सिंह लामा र सञ्जिव ढकाल, सदस्य सचिव लेखा शाखाका कर्मचारी राजिव श्रेष्ठ रहेको समति गठन गरिएको छ । माघ १५ गते बसेको कार्यपालिका बैठकले छानबिन गर्न समिति बनाएको नगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।