चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने

 माघ २४, २०७६ शुक्रबार ९:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन अझै केही दिन लाग्ने भएको छ ।

सरकारले उनीहरुलाई ल्याएर राख्ने ठाउँको टुङ्गो लगाए पनि ती ठाउँमा राख्न केही प्राविधिक तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको बाध्यात्मक निर्देशनअनुसार नै सरकारले चीनबाट फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । तर उनीहरुलाई राख्न अझै प्राविधिक कुरा मिलाउने काम बाँकी नै रहेको मन्त्रालयले जनाएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाैकाे इचङ्गुनारायणमा रहेको सुकुम्बासी आवास भवन, शिवपुरीको सैनिक ब्यारेक, भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिनुभएको छ ।

चीनबाट फर्कन आवेदन दिएका १ सय ८० जनालाई कहाँ, कति जनाका दरले राख्ने भन्ने तय गरी त्यसैअनुसारको कक्ष बनाउनुपर्ने भएकाले कम्तीमा अझै एक/दुई दिन लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

उनीहरुमध्ये सम्भावित बिरामीलाई लक्षित गरी ४३ शैय्याकाे 'आइसोलेशन' वार्ड तयारी अवस्थामा राखिएको र दुई सय बिरामीलाई परीक्षण गर्न पुग्ने किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

तर हुबेई प्रान्तका वुहान लगायत शहरमा रहेका नेपालीका अभिभावकले भने उनीहरुलाई फर्काउन सरकार अझै गम्भीर नबनेको गुनासो गरेका छन् । फर्काउने प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालयमा धर्ना पनि दिएका थिए ।  

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया