राष्ट्रिय सभाका अध्यक्ष र क्यानडेली सभामुखबीच भेटवार्ता

 माघ २७, २०७६ सोमबार १६:३५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रिय सभाको अवलोकन गरेको छ । 

राष्ट्रिय सभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदनकाे प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गर्नुभएको थियो ।

जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रिय सभा सञ्चालनको अवलोकन गरेको थियो । सोमबारको बैठकमा दलीय आधारमा बोल्दै राष्ट्रिय सभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए ।

नेकपाका राष्ट्रिय सभाका प्रमुख सचेतक दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल बसाइ सुखमय बितोस् भन्ने कामना गर्नुभयो ।

उहाँले क्यानडाको राजनीतिक र संसदीय प्रणालीको चर्चा गर्दै नेपालको संसदीय र राजनीतिक प्रणालीका धेरै विशेषता र मौलिकता क्यानडासँग मिल्दो रहेको बताउनुभयो । राष्ट्रिय सभाले सबै जातजाति र समुदायको प्रतिनिधित्व गरेकाले राष्ट्रिय सभा सप्तरङ्गी इन्द्रेणीको रुपमा अवस्थित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'यो हाम्रो राष्ट्रिय सभा समावेशी समानुपातिक सिद्धान्तको सप्तरङ्गी इन्द्रेणीको रुपमा अभिव्यक्त हुन्छ ।'

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडेली संसदको प्रतिनिधिमण्डलको स्वागत गर्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप दौत्य हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र क्यानडाको राजनीतिक प्रणालीमा धेरै समानता रहेको चर्चा गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको विशेषताको व्याख्या पनि गर्नुभयो ।

कैयाैँ अधिकारलाई संविधानले प्रत्याभूति गरेको भए पनि पछिल्लो समय संविधानले प्राप्त गरेको उपलब्धिलाई सरकारले कानुन निर्माण गरेर नियन्त्रण गर्ने प्रयत्न गरेकाे गुनासो पनि गर्नुभयो । सूचना प्रविधि विधेयक, राष्ट्रिय सुरक्षा परिषद् मानव अधिकार आयोग तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी विधेयकहरुले जनताको गोपनियताको हनन् गर्ने हुन् कि भन्ने आशङ्का उब्जाएको उल्लेख गर्दै त्यस्ता विधेयकहरुलाई सच्याउन सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, 'कैयौँ विधेयकहरु छन्, जसलाई हामीले सच्याउनुपर्ने छ । संविधानको भावना र मर्म विपरीत देखिएका विधेयकहरु सच्याउनका लागि म आग्रह गर्न चाहन्छु । सरकारलाई सचेत पनि गराउन चाहन्छु ।'

स्वतन्त्र न्यायिक निकायलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपालमा अझै पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको र भ्रष्टाचार छानबिन गर्ने स्वतन्त्र निकायमा सरकारले हस्तक्षेप गरी आफू अनुकुल निर्णय गराउन उद्दत रहेको आरोप लगाउनुभयो ।

उहाँले नाम उल्लेख नगरिकनै ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायाँ बनेर विभेदपूर्णरुपमा मुद्दा दर्ता गराएकोमा आक्रोश पोख्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया