म अहिले प्रधानमन्त्री बन्ने 'रेस' मा छैन, भविष्यकाे कुरा अर्कै : प्रचण्ड

 माघ २८, २०७६ मंगलबार ७:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रधानमन्त्री बन्ने लालसा नराखेको बताउनुभएको छ । 

उहाँले अहिले आफूलाई प्रधानमन्त्रीको 'रेस' मा रहेको रुपमा नबुझिदिन पनि आग्रह गर्नुभयो । भविष्यमा भने प्रधानमन्त्रीका रुपमा देशकाे नेतृत्व लिन सक्ने उहाँको सङ्केत थियो ।

‘म अहिले प्रधानमन्त्री बन्दै छैन’, तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको शालीक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामाहरोहलाई मङ्गलबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘भविष्यको कुरा अर्कै हो ।’

कार्यक्रममा काङ्ग्रेस सांसद बहादुरसिंह लामा तामाङले अब हुँदै गरेका प्रधानमन्त्री भन्दै प्रचण्डको सम्बोधन गर्नुभएको थियो । लामाको भनाइको खण्डन गर्दै प्रचण्डले प्रधानमन्त्री बन्ने मनसाय नराखेको स्पष्ट पार्नुभएकाे हो । प्रचण्डले आफ्नो ध्यान सत्तामा नभइ देश विकासमा रहेको बताउनुभयाे । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उहाँले त्यसमा अहिले आएर तीनै देशका बीचमा झण्डै–झण्डै सैद्धान्तिक सहमति कायम भएको उल्लेख गर्नुभयो ।

‘उहाँहरुले त्यतिबेला टु प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भन्नुभयो, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उहाँले त्रिदेशीय रणनीतिक विकास, कुटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या गर्नुभयो ।

फरक प्रसङ्गमा प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरुमा निशर्त साथ दिएको सम्झँदै उहाँको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण गर्नुभयो ।

सामान्य गरिब परिवारमा जन्मेको र औपचारिक रुपमा उच्च शिक्षा हासिल नगरेका बोगटीमा असाधारण क्षमता र व्यक्तित्व रहेको उहाँको भनाइ थियो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उहाँले बोलेपछि पार्टीका शीर्ष नेताहरु समेत हच्किने गरेको प्रचण्डको भनाइ थियो ।

आफ्नो दायाँ र बायाँ बाबुराम भट्टराई र मोहन वैद्य रहेको स्मरण गर्दै प्रचण्डले बोगटीका अगाडि दुवै डराउने गरेको सुनाउनुभयो । ‘मेरो दायाँ र बायाँतिर ठूल्ठूला विद्वान डाक्टर र वैद्य थिए’, उहाँ त धेरै नपढेको मान्छे तर उहाँ बोलेपछि डाक्टर र वैद्यको पसिना छुट्थ्यो ।’ बोगटीको असामयिक निधनमा काङ्ग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि प्रचण्डले गर्नुभयो ।

उहाँले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र देशलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गर्नुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया