सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – बुवा कुलबहादुर खड्का भारतीय सेनाका जागिरे । त्यसैले पनि सेनामा भर्ती हुने सानैदेखिको सपना थियो, सुन्दरबजार नगरपालिका–८, अकलाटोलका सीताराम खड्काको । एसएलसी उतीर्ण गरेपछि उहाँ भारतीय सेनामा भर्ती हुन जानुभयो र भर्ती हुन सफल पनि हुनुभयो ।
‘बुवा पनि भारतीय सेना हुनुहुन्थ्यो । उहाँको प्रभावले पनि भारतीय सेनामा भर्ती हुन गएँ । सफल पनि भएँ,’ उहाँले भन्नुभयो । सीतारामका दाइ बलराम खड्का पनि भारतीय सेनामा हुनुहुन्छ । भाइ अर्जुन खड्का कतारमा हुनुहुन्छ ।
श्रम–पसिना गाउँको माटोमा पोख्दै
सीतारामले आफ्नो जोश–जाँगर १८ वर्षसम्म भारतीय सेनामा खर्चनुभयो । अहिले उहाँ भारतीय सेनाबाट अवकाशप्राप्त भइसक्नुभएको छ । उहाँले अवकाश लिएको ३ महिना भएको छ ।
जागिरबाट अवकाश लिए पनि उहाँले आफ्नो समयलाई त्यसै खेर फाल्नुएको छैन । आफ्नो जोश–जाँगर, श्रम–पसिना उहाँले अहिले आफ्नै गाउँको माटोमा पोख्दै हुनुहुन्छ । कृषि कर्म गरी देशको सेवामा लाग्नुभएको छ ।
खड्काले अहिले घरगाउँमै व्यवसायिक बाख्रापालन सुरु गर्नुभएको छ । ‘खड्का बाख्रा कृषि फर्म’ दर्ता गरी उहाँले व्यवसायिक रुपमा ‘बोयर’ जातको बाख्रापालन सुरु गर्नुभएको छ ।
घरआडैमा व्यवस्थित बाख्राको खोर बनाएर उहाँले बाख्रा पाल्नुभएको छ । खोरमा अहिले १६ वटा बोयर जातका बाख्रा छन् । स्थानीय जातका बाख्रा ४ वटा छन् ।
बोयर पाठापाठी उत्पादन गर्ने लक्ष्य
उहाँको खोरमा ५०–प्रतिशत–बोयर–बाख्रा ४ वटा, ७५–प्रतिशत–बोयर–बाख्रा १२ वटा छन् । उहाँले ५०–प्रतिशत–बोयर–बाख्रा प्रतिकेजी १ हजार रुपैयाँ र ७५–प्रतिशत–बोयर–बाख्रा प्रतिकेजी १८ सय रुपैयाँमा खरिद गरेर ल्याउनुभएको छ ।
यस्तै, उहाँको फर्ममा एउटा ७५–प्रतिशत–बोयर–बोका पनि छ । ‘७५–प्रतिशत–बोयर–बोका ८४ हजारमा किनेर ल्याएको हुँ,’ उहाँले भन्नुभयो, ‘मासुका साथै बोयर पाठापाठी उत्पादन गर्ने लक्ष्यका साथ बोयर बाख्रापालनमा लागेको हुँ ।’
१० लाखभन्दा बढी खर्च
बाख्रा फर्मलाई वरिपरि तारजालीले घेरिएको छ । बाख्राको खोर निर्माणका साथै बाख्रा खरिद गरी सुरुवातीे चरणमै झण्डै १० लाखभन्दा बढी रुपैयाँ खर्च भइसकेको खड्काले बताउनुभयो ।
‘खाली समयको सदुपयोगका साथै कृषि कर्मबाट देशमै कमाउन सकिन्छ भन्ने सोचका साथ म बाख्रापालनमा लागेको हुँ,’ उहाँले भन्नुभयो, ‘लामो समय भारतीय सेनामा सेवा गरेँ । अब आफ्नै माटो कृषि कर्म गरी देशको सेवा गर्दैछु ।’
सेनामा रहँदै जागिरबाट अवकाश लिएपछि गाउँघरमै बसेर कृषि कर्म गर्ने सोच उहाँमा थियो । त्यही सोचअनुसार अवकाशपछिको समयलाई अहिले उहाँ जोस–जाँगरका साथ कृषि कर्ममा खर्चनुभएको छ ।
बजारमा बोयर जातको मासुका साथै पाठापाठीको माग उच्च रहेकाले पनि आफूले बोयर जातको बाख्रापालन सुरु गरेको खड्का बताउनुहुन्छ । अचेल बाख्राको रेखदेख र स्याहारसुसार गर्नमै उहाँको साँझ–बिहान बित्ने गर्छ । बाख्रापालन व्यवसायलाई अघि बढाउन श्रीमती शान्ता खड्काको पनि प्रयाप्त साथ सहयोग मिलेको छ उहाँलाई ।
किसानमा आकर्षण
बाख्रा छिट्टै बढ्ने, उत्पादन बढी हुने, जुम्ल्याहा बच्चा जन्माउने र बोयर जातको बाख्रासँग प्रजनन गरी स्थानीय जातको बाख्राको नश्ल सुधारमा पनि टेवा पुग्ने भएकाले स्थानीय किसान बोयर जातको बाख्रापालनप्रति आकर्षित भएका छन् । मागअनुसारको बोयर बाख्रा देशमा उत्पादन हुन नसक्नु र बाहिरबाट शुद्ध बोयर ल्याउँदा यो जातको बाख्रापालन केही खर्चिलो हुन पुगेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।
खर्चिलो तर आम्दानी राम्रो
‘बोयर जातको बाख्रापालन केही खर्चिलो भए पनि यसको मासु र पाठापाठीको माग उच्च रहेकाले आम्दानी राम्रो हुन्छ,’ डा. श्रेष्ठले भन्नुभयो । डा. श्रेष्ठका अनुसार हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा बाहेक अन्य ठाउँमा पनि बोयर जातको बाख्रापालन गर्न सकिन्छ । यसबाट मनग्य आम्दानी गर्न सकिन्छ ।
डा. श्रेष्ठले पहाडी जिल्ला लमजुङमा पनि बोयर जातको बाख्रापालनको सम्भावना उच्च रहेको बताउनुभयो । पशु सेवा विज्ञ केन्दका अनुसार जिल्लाकै मालिङका उमेश गुरुङले डि. के. बाख्रा फर्म र उस्ताबेँसीका डम्बर गुरुङले साइँला दाइको बाख्रा फार्म सञ्चालन गरी विभिन्न प्रतिशतका बोयर बाख्रा व्यवसायिक रुपमा पालन गर्दै आउनुभएको छ ।
आम्दानी राम्रो हुने आशा
बोयर जातको बाख्रापालनमा तुलनात्मक रुपमा खर्च धेरै भए पनि आम्दानी पनि राम्रै हुनेमा खड्का आशावादी हुनुहुन्छ । ‘खर्च पनि छ । तर उत्पादनबाट राम्रै आम्दानी हुनेमा विश्वस्त छौँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन खपत हुने क्षेत्र सुन्दरबजार, भोटेओडार र बेसीशहर हुन् ।’
बाख्राका लागि आवश्यक दाना उनीहरु घरमै तयार गर्छन् । खड्का दम्पत्तिले ४ रोपनी धान फल्ने जग्गामा जै घाँस लगाएका छन् । घरपरिवारको साथमा रहेर कृषि कर्म गर्न पाउँदा शान्ता निकै खुशी हुनुहुन्छ । ‘दुःख गर्न सके गाउँघरमा पनि कमाउन सकिन्छ । घरपरिवारसँगै रहेर यसरी कृृषि कर्म गर्न पाउँदा हामी साह्रै खुशी छौँ,’ शान्ताले भन्नुभयो । खड्का दम्पत्तिका १ छोरा र १ छोरी छन् । उनीहरु पढ्दै छन् ।
बाख्रापालनलाई थप व्यवस्थित र विस्तार गर्दै अघि बढाउने आफूहरुको लक्ष्य रहेको ३७ वर्षीया शान्ताले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।
kriparam bk
Feb. 22, 2020, 7:48 a.m.New