काेराेना भाइरसकाे जाेखिम रहेसम्म संसद बैठक स्थगित गर्न सांसद यादवकाे माग

 फागुन २३, २०७६ शुक्रबार १४:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसद प्रदिप यादवले संसद बैठक स्थगित गर्न माग गर्नुभएको छ । विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न उहाँले माग गर्नुभएको हो ।

सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागी हुने कार्यक्रम नगर्न सूचना जारी गरे पनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागी हुने बैठकमा कुनै हेल्थ डेस्कसमेत नभएको भन्दै बैठक स्थगित गर्न माग गर्नुभएको हो ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद यादवले बैठक सञ्चालन नै गर्नुपर्ने अवस्थामा पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । सांसद र मन्त्रीहरु सयौँको भिडभाड हुने कार्यक्रममा सहभागी भएर बिना कुनै जाँच संसदभित्र प्रवेश गर्ने भएकाले यसले संक्रमणको रुप लिए के हन्छ ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

सांसद पुष्पा भुसालले जिल्ला प्रशासन कार्यालयले भिडभाडमा नजानू, धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्नू भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय बन्द नगर्नू भनेर सूचना निकालेकाेप्रति आपत्ति जनाउनुभयो ।

प्रशासनले भिडभाडमा नजानू भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय निर्वाचन रुपमा सञ्चालन गर्नू भनेकाले लाखौँ बालकालिकाहरु जोखिमको यात्रा गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

‘एकतिर जिल्ला प्रशासनले भिडभाड हुने कार्यक्रम नगर्नू भनेर सर्कुलर गरेको छ भने अर्कोतिर लाखौँ बालबालिका विद्यालय जानलाई बाध्य भएका छन् । ५ गतेसम्म बन्द नगर्ने भनेर सूचना पनि आइरहेको छ । एकतर्फ जिल्ला प्रशासनले यस्तो सूचना जारी गर्ने अर्कोतर्फ बालबालिकाहरुले जोखिमको यात्रा गर्नुपर्ने भएको हुनाले विद्यालय र कलेजहरुले तत्काल बन्द गर्न निर्देशन दिन माग गर्दछु’, उहाँले भन्नुभयो ।

सांसद धर्मशिला चापागाईँले कोरोना भाइसरका कारण आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभावको समस्या उत्पन्न भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,‘दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना हुने अवस्था देखिएको छ । सरकारको ध्यान तत्काल जाओस्, अप्राकृतिक हिसाबले अभाव सिर्जना हुनु राम्रो होइन ।’

सांसल डिला संग्रौला पन्तले विश्वलाई कोभिड—१९ ले आक्रान्त बनाएजस्तै नेपाललाई भ्रष्टाचारले सताएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको दृढ इच्छाशक्तिले शारीरिक समस्या जित्न सफल हुनुभएको भए पनि भ्रष्टाचारलाई जित्न नसकेको आरोप लगाउनुभयो ।

सांसद तेजुलाल चौधरीले भ्रष्टाचार देशको मुटु, फोक्सो र कलेजोको नसा नसामा पसेको बताउनुभयो । प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाको चिन्तसँगै नेपाली जनता र देशको स्वास्थ्यको चिन्ताले सताएको उहाँले बताउनुभयो ।

सांसद दिल कुमारीले वनमन्त्री शक्ति बहादुर बस्नेतको राजीनामा माग गर्नुभएको छ । मन्त्रीको स्वकीय सचिवले हदैसम्मको अपमान गरेको भन्दै उहाँले राजीनामा माग गर्नुभएको हो । राजतन्त्रको अन्त्य भएपनि राणा शासन अझै सबै मन्त्रालयहरुमा रहेको भन्दै उहाँले जनताको काम लिएर जाँदा पनि समानुपातिक सांसद भनेर कर्मचारीहरु र स्वकीय सचिवहरुले अपमान गर्ने गरेको बताउनुभयो ।

सांसद दिव्यमणि राज भण्डारीले हात र गला मिलाउने प्रथाको अन्त्य गरी नमस्कार गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले सांसदहरुलाई समेत हप्तामा २ दिन राष्ट्रिय पोसाक लगाएर संसदमा उपस्थित हुने संस्कारको विकास गर्न आग्रह गर्नुभयो ।

सांसद प्रकाश रसायली स्नेहीले विगतवर्ष भन्दा यो वर्ष उखुको उत्पादनमा ४० प्रतिशतले कमि आएकोले भारतबाट आयात हुने चिनी बन्द गर्न माग गर्नुभयो । नेपाल

बैठकले संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक २०७६, सार्वजनिक ऋण व्यवस्थान विधेयक २०७६, बैक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६, नेपाल राष्ट्रबैक (तेश्रो संशोधन) विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया