दम्भ र अंहकारको सिंहासनमा बसेको सरकार अन्तत जनताका सामुन्ने झुक्न बाध्य: सांसद रिजाल

 साउन ११, २०७५ शुक्रबार १४:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रतिनिधिसभाको शुक्रबारको पहिलो बैठकमा सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिनुभएको थियो ।

सांसद रिजालले दम्भ र अंहकारको सिंहासनमा बसेको सरकार अन्तत जनताका सामुन्ने झुक्न बाध्य भएको भन्दै यो दिन सबैका लागि खुसीको दिन भएको बताउनुभयो ।

जबरजस्ती चिकित्सा शिक्षा सुधारको योजना रोक्न सक्दैन भन्ने मान्यता स्थापित भएको भन्दै उहाँले मन्त्रीले सहमतिका बारेमा सदनलाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

उहाँले लोकतन्त्रमा चुनावको मत भन्दा पनि जनमतको कसीमा सरकारलाई हेरिने भएकाले संविधान फेर्न सक्ने तागत छ भनेर संविधान मान्दिन भन्न नमिल्ने बताउनुभयो । 

संविधानले सभामुख र उपसभामुख एउटै दलको बन्न सक्दैन भनेकाले अदालतको प्रतिवादी भएर नबस्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले संविधानले देखाएको बाटोबाट अघि बढ्नुपर्नेमा सरकारलाई सचेत गराउनुभयो ।

मन्त्री पोखरेलले ९ बुँदे सहमति सार्वजनिक भइसकेको र सहमतिलाई मन्त्रीपरिषद्को बैठकमा अनुमोदनमा लैजानुपर्ने भन्दै संसदको गरिमालाई ध्यान दिएर सहमतिलाई प्रक्रियामा लगेर टुंगो लगाउन सघाउन आग्रह गर्नुभयो ।

मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरु पुष्पा भुसाल, गगन थापा, डिला संग्रौला, लक्षिम परियार, प्रकाश सराईली स्नेही, राम बहादुर विष्ट लगायतले कुन कुन बुँदा र के के विषयमा सहमति भएको स्पष्ट पार्न आग्रह गरे ।

साथै उनीहरुले बंगलादेशमा अध्ययनरत छात्राको बारेमा आपत्तिजनक अभिव्यक्ति दिने दुर्गा प्रसाईलाई कारवाही हुन्छ हुदैन भनी मन्त्रीको जवाफ माग गरेपछि फेरी मन्त्री पोखरेलले जवाफ दिनुभएको थियो । 

यसपटक पनि चित्तबुझ्दो जवाफ नभएपछि कांग्रेसले विरोधलाई कायम नै राख्यो । 

त्यसपछि प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको तर्फबाट सम्बन्धित मन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभई गोलमोटल भएको भन्दै सहमति भइसकेको विषयलाई कार्यान्वयन गर्ने हो थप सहमति गर्ने होइन भन्दै पुन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसपछि जवाफ दिन रोष्ट्रम पुगेका मन्त्री पोखरेलले सहमति पत्रलाई सभामुखलाई हस्तान्तरण गर्नुभएको थियो ।

 त्यसपछि पनि कांग्रेसका सासंदहरुले उभिएर विरोध जनाएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया