दक्षिण कोरियाको सत्तारुढ दललाई संसदमा बहुमत

 वैशाख ४, २०७७ बिहीबार १९:५६:१४ | रासस
unn.prixa.net

काठमाण्डौ - दक्षिण कोरियाको वामपन्थी झुकाव राख्ने सत्तारुढ पार्टीले बुधबार सम्पन्न संसदीय निर्वाचनमा जित हासिल गरेको छ । 

कोरोना भाइरस महामारीकै बीचमा सम्पन्न चुनावमा राष्ट्रपति मून जाए-इनको पक्षमा जनलहर देखिएको छ । राष्ट्रपति मूनको डेमोक्रेटिक पार्टीले राष्ट्रिय सभामा पूर्ण बहुमत हासिल गरेको छ । 

विगत १२ वर्षमा संसदमा यसपटक मात्र कुनै दललाई पूर्ण बहुमत प्राप्त भएको हो । करिब ६६ प्रतिशत मतदान भएको यस पटकको चुनावमा जनसहभागिता दृष्टिले सन् १९९२ यताकै यो सबैभन्दा बढी हो । 

केही महिना अघि मात्र मूनमाथि शक्तिको दुरुपयोग गरेको र देशको आर्थिक बृद्धि कमजोर बनेको भन्दै आलोचना हुन थालेको थियो । कतिपय आलोचकले राष्ट्रपति मूनले उत्तर कोरिया मामिलामा चालेका कदमहरु पनि अपरिपक्व रहेको बताउँदै आएका थिए ।

तर कोरोना महामारीलाई दक्षिण कोरियाले द्रुत र प्रभावकारी ढंगबाट व्यवस्थापन गरेपछि मूनमाथि जनताले फेरि विश्वास व्यक्त गरेका छन् । यसबीचमा कोरियाले २० भन्दा बढी देशमा कोरोना परीक्षण किटसमेत उपलब्ध गराएर उदाहरणीय कार्य गरेको छ । 

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्री मिन्सोन कुले ‘कोरोनाभाइरस कुटनीति! जस्ता कदमले मून प्रशासनको शाख बढाउनुका साथै जनतामा आत्मविश्वास बढाएको बताउनुभयो । 

मूनले कम्तिमा २० वटा देशका सरकार प्रमुखहरुसँग भिडियो कन्फरेन्स मार्फत कुराकानी गर्नु भएको थियो । कोरोना भाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको थियो । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

राष्ट्रपति मून जाए-इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो ।

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उहाँको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएका थिए ।

खासगरी, चीन, युरोप र उत्तर अमेरिकी देशमा कोरोना भाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वरेन्टीनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ । 

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ ठाउँ समानुपातिक प्रतिनिधित्व हुने गर्दछ । 

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भए पनि राष्ट्रपति मून जाए-इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार मूनको डेमोक्र्याटिक पार्टीले १६३ ठाउँ जितेको छ भने यसको गठबन्धन दलले पनि १७ स्थान जितेको छ । यसबाट डेमोक्रेटिक पार्टीले कुल १८० ठाउँ प्राप्त गर्नेछ ।

विपक्षी युनाइटेड फ्युचर पार्टीले १०३ ठाउँ जितेको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया