सरकारले बनाइदिएको घरमा बसेका राउटे फेरि जंगल मोहमा

 वैशाख ७, २०७७ आइतबार २०:२७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

 डडेल्धुरा - डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी गाउँमा घर बनाएर बस्न थालेका राउटेमा जंगल मोह फेरि बढ्न थालेको छ ।

विगतका वर्षमा जंगलमा बस्दै आएका राउटे जाति नेपाल सरकारले बनाइदिएका घरमा बस्दै आए पनि  खाद्यान्न अभाव हुन थालेपछि तरुल, गिठा खाएर छाक टार्न फेरि जंगल पसेका छन् ।

राउटेहरु गाउँ छाडेर करीब डेढ घण्टाको दूरीमा रहेको राष्ट्रिय जंगलमा बस्न थालेका छन् । करीब एक दर्जन राउटेले राष्ट्रिय वनमा टहरा निर्माण गरेर बस्न थालेका छन् । 

राउटेले चुरेक्षेत्रको वन फडानी गर्दै गाईबाख्राका गोठ तथा खोर निर्माणको निहुँमा दर्जनभन्दा बढी टहरा निर्माण गरेका छन् । पालिकाले बेवास्ता गरेको र  आफूहरु भोकमरीमा परेको भन्दै आफूहरु पेटपाल्न जंगल पसेको चन्द्रसिँह राउटेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीहरुलाई खाद्यान्नको व्यवस्था नहुँदा भोकमरी भएकाले जंगलमा गई तरुल र गिठा खाएर जीवन निर्वाह गरिरहेका छौँ ।’

लकडाउनका कारण गाउँमा मजदूरी गर्न नपाउँदा खानाको समस्या हुन थालेपछि गाईगोरु चराउन र तरुल खानका लागि जंगलमा गएको बहादुर राउटेले बताउनुभयो । लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएकाले जंगलमा बस्न गएको उहाँले स्पष्ट गर्नुभयो । 

परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउँदले जंगल पसेका राउटेलाई घर फिर्ता गरेर राहतसमेत उपलब्ध गराइएको बताउनुभयो । नगरप्रमुख साउदले भन्नुभयो, ‘राउटेहरुलाई खाद्यान्नको अभाव भएर जंगलमा गएको खबर पाएपछि गाउँमा पुगेर राहत वितरण गरेका छौँ ।’

पालिकाले समयमै राहत वितरण नगर्नु र राहत वितरण गर्दा राउटे जातिलाई समयमै उपलब्ध नगराउनुले ती चुरेक्षेत्रको जंगलमा पसी फँडानी गर्दै टहरा निर्माण गर्ने क्रम बढ्दै गएको स्थानीयवासी प्रेम धामीले बताउनुभयो । 

डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त वन डिभिजन प्रमुख सरिता लामाले कर्मचारीको जनशक्ति अभावका कारण वन फँडानी नियन्त्रणमा समस्या देखिएको बताउनुभयो ।

निमित्त प्रमुख लामाले चुरे क्षेत्र अतिक्रमण भइरहेको खबर पाएपछि वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोली गएर टहरा हटाउने काम गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया