बिक्री नभएपछि काउली, बन्दा गाईलाई खुवाउँदै भक्तपुरका किसान

 वैशाख ८, २०७७ सोमबार १०:३५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - चाँगुनारायण नगरपालिका वडा नम्बर ९, ताथलीका सानुभाई गिरीले बारीमा लगाउनुभएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थाल्नुभएको छ । 

बारीमा फलेको तरकारी बजारमा लैजाने अवस्था नभएपछि गिरीले घरमा पालेका तीनवटा गाईलाई खान दिन थाल्नुभएको हो ।  गिरीले मात्रै होइन, यो ठाउँका धेरै किसानले बिक्री गर्न नपाएपछि तरकारी काटेर गाईलाई खुवाउन थालेका छन् । 

अधिकांशको घरमा एकदेखि तीनवटासम्म गाई रहेको र तरकारी स्थानीय स्तरमा समेत खपत नहुँदा उनीहरुले गाईलाई खुवाउन थालेका छन् । लकडाउनको कारण सवारी साधन नचल्ल्दा र बजार पनि नखुलेकाले तरकारी बजारमा लान नपाएको गिरीको भनाइ छ । 

गिरी भन्नुहुन्छ, ‘गतवर्ष एक लाखको तरकारी बिक्री गरियो । यस वर्ष बिक्री गर्ने बेलामा कोरोनाको कारणले लकडाउन हुँदा तरकारी बिक्री गर्न पाइएन । त्यसैले तरकारी गाईलाई खुवाउन थालेका छौँ ।’ 

तरकारी मात्रै होइन, घरमा पालेको गाईको दूध समेत बिक्री गर्न नपाएको उहाँको गुनासो छ । दैनिक ११ लिटर दूध बिक्री गर्दै आउनुभएको गिरीले गाईलाई दाना नहुँदा दूध घटेको र लकडाउन सुरु भएपछि ठेकेदारले दूध लिन छोडेको उहाँले बताउनुभयो । 

यहाँका अधिकांश किसानले तरकारी र दूध बिक्री नहुँदा दोहोरो नोक्सानमा परेको गुनासो गर्छन् । स्थानीय श्याम खत्री दूध र तरकारी बिक्री नहुँदा साना किसान दोहोरो मारमा परेको बताउनुहुन्छ । 

भक्तपुरका ताथली, सुडाल, वागेश्वरी, नगरकोट, छालिङ्ग, चाँगु र सिपाडोललगायतका किसानहरु दूध र तरकारी बिक्री गर्न नपाउँदा समस्यामा परेका छन् । 
सरकारले राहत कार्यक्रम ल्याएपनि साना किसानसम्म नपुगेको यहाँका किसानको गुनासो छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ८, सिपाडोलका कान्छा श्रेष्ठ घरमा तरकारी खेती र दूध भएपनि बिक्री नहुँदा एक लाखभन्दा बढी नोक्सान भएको बताउनुहुन्छ । 

‘सरकारले राहत दिन्छ भन्ने सुनेको छु । राहत आयो भने पनि हामीजस्ता साना किसानसम्म आइपुग्दैन जस्तो लाग्छ । पहुँच हुनेकोमा राहत पुग्ला । हामी साना किसानलाई नोक्सानको नोक्सान नै हुने भयो,’ श्रेष्ठले भन्नुभयो । 

मध्यपुरथिमि नगरपालिकाको नगदेशका कृषक रामप्रसाद प्रजापति हरियो तरकारी बिक्री गर्न नपाउँदा समस्यामा छन् । हरेक वर्ष रायो साग, चौम्सुर, पालुङ्गो, मेथी, धनियाँ र लसुन बिक्री गर्दै आउनुभएका उहाँ यस वर्ष कोरोनाको कारण तरकारी खेर गएको बताउनुहुन्छ । 

उहाँ मात्रै होइन, नगदेशमा तरकारी खेती गर्ने सिङ्गो बस्ती यतिखेर तरकारी हेरेर मन कुटुक्क काट्नबाहेक केही गर्न नसक्ने अवस्थामा छन् । नगदेशमा उत्पादन भएका तरकारी कोटेश्वरदेखि कालीमाटीसम्म बिक्री हुने गर्दथ्यो । तर यसवर्ष कोरोना भाइरसको कारण तरकारी खेतमै खेर जान थालेको छ ।

लकडाउनको कारण खेतमा भएको तरकारी बजारमा लैजान नपाएको सुमन श्रेष्ठ बताउनुहुन्छ । लसुन छिप्पिन थालेको बताउँदै उहाँले अरु हरिया तरकारी समेत खेर जान थालेको बताउनुहुन्छ । स्थानीय बजारमा भारतबाट आयात भएका तरकारी भएकाले समेत स्थानीय तरकारी बिक्री नभएको किसानहरुको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया