सबै कर्मचारीलाई एक महिना बिदा दिएर घुम्न पठाउने पर्यटनमन्त्री भट्टराईको योजना

 वैशाख ८, २०७७ सोमबार १५:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न नयाँ नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले कोरोनाको महामारी कम भए पनि अबको केही समय विश्वभरका पर्यटक ठूलो संख्यामा घुम्न नसक्ने भन्दै आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सरकारले धेरै योजना बनाएको र त्यसमध्ये एउटा सबै सरकारी कर्मचारीलाई बिदा दिएर घुम्न पठाउने र आन्तरिक पर्यटन बलियो बनाएर आर्थिक चहलपहल बनाउने पनि रहेको बताउनुभयो । 

‘तत्कालै अन्तर्राष्ट्रिय पर्यटकको बाढी नै नआउन सक्छ, त्यो अवस्थामा हामीले आन्तरिक पर्यटनमा जोड दिँदै,  हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारी, र सबै संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भन्नुभयो । 

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउनुभयो । उहाँका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ ।

सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्ने समेत बताउनुभयो । 

 

 

 

मन्त्री भट्टराइले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसँगै  क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताउनुभयो । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ ? बैंकहरुको लगानी कति छ र? श्रमिक कति छन् ? क्षति के कति हो भन्ने आउँछ,’ मन्त्री भट्टराईले भन्नुभयो । 

१ खर्ब ६० करोड रुपैयाँको क्षति भएको हुनसक्छ : जोशी

भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत ९सीइओ० दिपकराज जोशीले नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० करोड रुपैयाँ क्षति हुने अनुमान गरिएको बताउनुभयो । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तिलाई समेत असर गरेको जोशीले बताउनुभयो ।

सरकारले सन् २०२२ सम्मको गुरुयोजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताउनुभयो । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो,’ । 

सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको जोशीले बताउनुभयो । सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रुपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उनले बताउनुभयो । 

सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्छ : पाण्डे

होटल संघ नेपालका द्धितीय उपाध्यक्ष प्रविण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

‘अब लकडाउन खुलिहाले पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दुरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो’ ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया