लकडाउनका बेला खोटाङमा गाउँमै १२७ युवालाई रोजगारी

 जेठ २९, २०७७ बिहीबार १७:०:५० | रासस

खोटाङ - खोटाङकाे रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७ युवाले गाउँमै रोजगारी पाएका छन् ।

गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । युवालाई प्रतिव्यक्ति जनही दैनिक ५१७  रुपैयाँ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो ।

'हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ', उहाँले भन्नुभयो, 'कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।' 

युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा सार्वजनिकस्थल नजिक खाली रहेको जग्गामा फलफूलका बिरुवा रोप्नेलगायतका काममा खटाइएको छ ।

जेठ १ गतेबाट परिचालन गरिएका युवालाई रोजगार उपभोक्ता समितिले काममा खटाउने तथा हाजिरी राख्नेलगायतका काम गर्दै आएको रोजगार कोषका संयोजक कुमारप्रसाद दाहालले बताउनुभयो ।

छ वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागि  २० लाख दुई हजार रुपैयाँ बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

हरेक दिन बिहान ९ देखि बेलुका ५ बजेसम्म काममा खटिने युवाले गरेका कामलाई प्रभावकारी बनाउन अनुगमनसमेत गर्ने गरिएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपप्रमुख समला राईले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सो गाउँपालिकामा बन्दाबन्दीको मारमा परेका व्यक्ति तथा परिवारलाई राहत वितरण गर्ने काम पनि भइरहेको जनाइएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा प्रतिवडा तीन लाख ५० हजारका दरले हरेक वडा कार्यालयमा बजेट पठाएर कार्यक्रम शुरु गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो । दश पालीका रहेको जिल्लाका अन्य स्थानीय तहमा समेत कार्यक्रम लागू भएको जनाइएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया