परदेशीकाे आक्राेश : उद्धार हाे कि व्यापार ! बरु आत्महत्या गर किन भन्दैन सरकार ?

 जेठ ३२, २०७७ आइतबार १७:४६:६ | बेदानन्द जाेशी

काठमाण्डौ – मोरङका नगेन्द्र खड्का साउदीमा कामबिहीन भएर बस्नुभएको चार महिना भयो । घर फर्किनको लागि टिकट काटेर तयार भएकै बेला लकडान भएपछि उहाँ साउदीमै एउटा साँघुरो कोठा भित्र थन्किनु भएको छ ।

‘यस्तो विपतमा परिएला भनेर कहिल्यै सोचेको पनि थिइनँ’, ४७ वर्षीय नगेन्द्र पीडा पोख्दै भन्नुहुन्छ ‘कमाउन आएको मानिस, एनआरएनएले दिएको राहतको खाद्यान्न खाएर बाँचिरहेको छु ।’

नगेन्द्र खड्का

अहिले दूतावासले जारी गरेको स्वदेश फर्किनेको पहिलो प्राथमिकताको सूचीमा उहाँको नाम त परेको छ, तर उहाँलाई यसको कुनै लाभ छैन । आफ्नो नाम परे पनि आफूसँग टिकट काट्ने पैसा नभएपछि नगेन्द्र निराश हुनुहुन्छ ।

‘यस्तो होला भन्ने के थाहा, घर जाने भनेर तयार भइसकेपछि साथमा धेरै पैसा पनि राखिएन’, नगेन्द्र सुनाउनुहुन्छ, ‘तीन महिनासम्म बेरोजगार बसेको मजदुरले कसरी यति धेरै भाडा तिर्न सक्छ ?’

समस्यामा परेकालाई प्राथमिकतामा राखेर उद्धार गरिने भनेर सरकारले भनिरहे पनि नगेन्द्र जस्ता वास्तविक पीडितले यसको कुनै अनुभूति गर्न पाएका छैनन् । यसलाई नगेन्द्र उद्धारको नाममा सरकारले गरेको व्यापार भन्नुहुन्छ । 

‘साउदी रियाल ६७५ मा मिल्ने टिकटलाई सरकारले अहिले उद्धार गरेको भन्दै उल्टै दुई हजार रियाल गरेको छ, यसलाई हामीले कसरी उद्धार भन्ने ?’ नगेन्द्रसँग सरकारको लागि थुप्रै प्रश्न छन् । प्रश्नै प्रश्नले जेलिनुभएको छ, फेरि सोध्नुहुन्छ, ‘सरकारले पीडितलाई सहायता गर्ने हो कि आत्महत्याको बाटोतिर धकेल्ने हो ?’

नगेन्द्रले नेपाल फर्किनको लागि गएको चैत २१ गतेको टिकट समेत लिइसक्नुभएको थियो । तर कोरोना सङक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि उहाँ नेपाल फर्किन पाउनुभएन । 

चार वर्ष दुई महिनापछि बल्ल घर फर्किने मौका मिलेको थियो । रातदिनको कम्पनीको कामबाट जसोतसो फुत्केर घर फर्किने दिन कुरी बस्नुभएका नगेन्द्रलाई समयले फेरि धोका दियो ।

घर फर्कनको लागि कम्पनीले छुट्टी नदिएपछि चार महिना पहिले नै नगेन्द्रले काम छोड्नुभएको थियो । काम छैन, काम नभएपछि कमाइ हुने कुरै भएन । त्यसैमाथि घर फर्किन पाउनुभएन । साथमा भएको सबै पैसा सकियो । ६७५ रियालमा काटेको हिमालय एयरलाइन्सको टिकट फिर्ता गर्दा १०० रुपैयाँ काटिएर ५७५ मात्र हातमा आयो । केही दिन त्यही पैसाले गुजारा चल्यो । बाँकी एनआरएनएको खाद्यान्न सहयोगले केही राहत दियो ।

‘किन जहिले पनि मलाई नै पीडा ?’, उहाँको यो प्रश्न उहाँको सामु पहाड बनेर उभिन्छ । 

आफ्नै परिवारका तीन–तीन जनाको मृत्यु हुँदा घर जान नपाउनु जति ठूलो पीडा अरु के होला ? नगेन्द्रले भोग्नुभएको छ यो दूःख । पहिलो वैदेशिक रोजगारीको यात्रा असफल भएपछि साउदी पुग्नुभएका नगेन्द्रले यहाँ झन पीडाको चट्टानसँग जुध्नुपर्छ भन्ने सोच्नुभएकै थिएन । तर भयो यस्तै ।

सोचेजस्तो भएन विदेश यात्रा 

खेतीकिसानी मै बितेका थिए दिनहरु । जसोतसो घरखर्च चलि नै रहेको थियो । तर घर खर्च चलेर मात्रै त भएन । छोराछोरीको पढाइलेखाइ, उनीहरुको भविष्य र आफ्नै जिन्दगीको एक लय समात्न उहाँले परदेश जाने निर्णय गर्नुभयो । 

आठ वर्ष पहिले एक लाख ६० हजार रुपैयाँ तिरेर मलेसिया पुग्नुुभयो नगेन्द्र । मलेसियामा भोगेका पीडाका पत्र केलाउन नगेन्द्र अहिले सक्नुहुन्न । चाहनुहुन्न पनि । तर उहाँ यति भन्नुहुन्छ, ‘त्यहाँ जाँदा लागेको खर्च समेत धौधौ उठाएर एक वर्षमै नेपाल फर्किएँ ।’

त्यसको केही समयपछि उहाँले साउदी अरब जाने निर्णय गर्नुभयो । चार वर्ष ६ महिना पहिले उहाँ काठमाण्डौको धुम्बाराहीमा रहेको करियर म्यानपावरलाई एक लाख रुपैयाँ बुझाएर ‘कार वास’को लागि साउदीको दमाम अल खाबेर पुग्नुभयो । त्यहाँ उहाँले भनेअनुसारको काम त पाउनुभयो, तर दाम पाउनुभएन । 

म्यानपावर कम्पनीले सम्झौतापत्रमा ८ घण्टाको ८०० तलब र २०० सय खाद्यान्न भक्ता गरी एक हजार रुपैयाँ तलब र हप्तामा एक दिन बिदा थियो । तर साउदी पुगेपछि भने उहाँले १४ घण्टा काम गर्नुपर्यो । साप्ताहिक बिदा पनि पाउनुभएन ।

बिहान ७ बजेदेखि १२ बजेसम्म काम हुन्थ्यो र त्यसपछि तीन घण्टा छुट्टी । त्यही बेला उहाँ कोठा आएर खाना खानु हुन्थ्यो । त्यसपछि फेरि ३ बजेदेखि राति १२ बजेसम्म काममा खटिनुपथ्र्यो । त्यति काम गरेर पनि तलब १२ सय रियाल मात्र दिन्थ्यो कम्पनीले ।

चार वर्षसम्म एकदिन पनि छुट्टी नपाएर बस्नुपर्दा कस्तो पीडा होला ? यो कुरा नगेन्द्रलाई राम्रोसँग थाहा छ । 

छुट्टीको नाममा शुक्रबार केही घण्टा कम काम गर्नुपथ्र्यो । शुक्रबार दिउँसो ३ बजेदेखि १२ बजेसम्म काममा खट्नुपथ्र्यौ । शुक्रबारको बिहानदेखि दिउँसो तीन बजेसम्मको समयमै उहाँले हप्ताभरका कपडा धुनुुहुन्थ्यो । घरमा पैसा पठाउनुपरे त्यही दिन । साथीभाइसँग भेटघाट गर्नुपरे त्यही छोटो समयमा गर्नुपर्थ्याे।
‘यसलाई पनि के छुट्टी भन्ने र खै, दुईचार कुरा गर्नै नपाई काममा हिँडीहाल्नुपथ्र्यो ’ उहाँ आफ्नो पीडा यसरी पोख्नुहुन्छ ।

घर बिदामा आउनुपर्यो भने तीन महिनाको तलब मालिकलाई छोड्नुपर्ने । नत्र घर पनि जान नपाइने । कम्पनीको यस्तो बन्धनमा बाँधिनुभएको थियो उहाँ, परिवारका तीन–तीन सदस्यले ज्यान गुमाउँदा पनि घर फर्किन पाउनुभएन । घर फर्किन खोज्दा कम्पनीको मालिकका शर्तहरु तँगराझैं अगाडि आएर उभिन्थे । 

दुई वर्ष पहिले चार महिनाको अन्तरमा नगेन्द्रको हजुरआमा र आमा दुवैजना बित्नुभयो । त्यसको एक वर्षपछि हजुरबुवाले पनि प्राण त्याग्नुभयो । तर नगेन्द्रसँग त्यतीबेला पीडाका ती आँसु घुटुक्क पिउनुबाहेक अरु केही विकल्प थिएन ।

घर बिदामा जानुभन्दा पहिले कम्पनीलाई तीन महिनाको तलब बुझाउनुपथ्र्यो, नत्र जान पाइँदैन थियो । समस्यै समस्याले थिचिनुभएका नगेन्द्रसँग तीन महिनाको तलब उतै छाडेर घर आउन सक्ने सामथ्र्य कहिल्यै भएन । 

श्रीमतीको मृत्युमा समेत कम्पनीले बिदा नदिएपछि नगेन्द्रका लमजुङ्का एकजना साथी ३ महिनाको तलब छोडेर नेपाल आउनुभयो । 

‘कतिसम्म दानवीय प्रवृत्तिको पराकाष्ठा’, नगेन्द्रको आक्रोश पोखिन्छ, ‘आमा, श्रीमतीको ज्यान जाँदा घर जान नदिने कस्तो कम्पनी ?’ 

यति मात्र होइन, एकदिन काममा नजाँदा कम्पनीले दुईसय रियाल काटेको पनि नगेन्द्र भुल्न सक्नुहुन्न । 

दुई वर्ष पहिलेको कुरा । एक दिन फोनमा घरमा कुराकानी भइरहेको थियो । कुरा गर्दा गर्दै उहाँकी आमा रुन थाल्नुभयो । नगेन्द्रका आँखा पनि रसाए । कुरा लम्बिंदै गयो, आँखाबाट आँसुका भल बग्दै गए । भावविह्वल हुनभएका नगेन्द्रलाई काममा जाने जाँगर नै आएन । आफ्नो सबै मन घरमा, आमासँग छाडेर भौतिक शरीरलाई काममा लगाउन सक्नुभएन । त्यो दिन उहाँ काममा जानुभएन । तर उहाँलाई के थाहा एक दिन काममा नजाँदाको परिणाम कतिसम्म हुन्छ भनेर । तलब आउने बेला उहाँको २ सय रियाल काटेर आयो । उहाँका लागि एक दिन बिदा बस्दाको सजाय यही भयो । 

त्यसपछि त नगेन्द्रलाई ज्वरो आउँदा पनि डर लाग्न थाल्यो, आफ्नो स्वास्थ्य बिग्रियो भन्दा पनि काममा नगए तलब काटिन्छ कि भनेर । यसरी नै उहाँले कठोरताका साथ कम्पनीमा कसरी चार वर्ष बिताउनुभयो, उहाँ आफैं पनि अचम्म मान्नुहुन्छ । 

‘आफू बसेको ठाउँको ६ सय मिटर आसपास मात्र घुम्न पाएको छ, अरु ठाउँको बारेमा त केही पनि थाहा छैन, छुट्टी हुने भए पो घुम्नु’ कारगारमा झैं चार वर्षे बसाइको विस्तार नगेन्द्रको यो भनाइले पनि प्रष्ट पार्छ ।

कम्पनीले अकामा पनि नदिंदा नगेन्द्रले साउदीमा झन् बढी समस्या झेल्नुपर्यो । साथमा अकामा नहुँदा बाहिरतिर गए प्रहरीले केही पो गर्छ कि भन्ने डरले उहाँ कतै निस्किनु पनि भएन ।

आफूसँग आकामा नहुँदा कमाएको पैसा घर पठाउन समेत कमिसन दिनुपरेको पीडा सुनाउनुहुन्छ नगेन्द्र । ‘पैसा पठाउनको लागि अलि टाढा जानुपथ्र्यो, मसँग आकामा नहुँदा म जान सक्दिन थिएँ, साथीलाई केही पैसा कमिसन दिएर पैसा पठाइ माग्थेँ’ उहाँ सम्झनुहुन्छ ।

कसैले सुनेनन् सहयोगको याचना ! 

नगेन्द्रले आफूलाई त्यो कालकोठरी जस्तो कम्पनीबाट छुटकाराको लागि कहाँ कहाँ गुहार्नु भएन । तर कहीँ कतैबाट पनि आशाको दियो बलेन । 

श्रमिकलाई पठाइसकेपछि उसलाई फर्काउने सम्मको जिम्मेवारी म्यानपावरको हुन्छ, तर म्यानपावरले नगेन्द्रको पीडा कहिल्यै सुनेन ।

‘करार अवधि सकिनेबित्तिकै म्यानपावरलाई फोन गरेर नेपाल फर्काइ मागेको थिएँ, तर म्यानपावर कम्पनीले जे भन्छ त्यही मान्, बढी बोल्ने होइन, नत्र नराम्रो होला भन्दै फोनबाटै धम्की दियो’, नगेन्द्रको जीवनमा यो घटना फेरि पीडाको नयाँ अध्याय बनेर आयो । 

पासपोर्ट कम्पनीले राखेको थियो । कम्पनीले घर जानै दिएन । म्यानपावरले केही पहल गरेन । त्यसपछि नगेन्द्रले वैदेशिक रोजगार विभागलाई आफ्नो समस्या खुलाएर उद्धार गरिपाउँ भन्दै मेल गर्नुभयो । तर त्यहाँबाट पनि मेलको कुनै रिप्लाई आएन ।

साउदीमा रहेको नेपाली दूतावासमा फोन गर्दा, त्यहाँको कर्मचारीले ‘ए हो र’ मात्र भन्ने तर कारबाही केही नगरेको उहाँ बताउनुहुन्छ ।

नगेन्द्रले उतैको लेबर कोर्टमा मुद्दा हाल्ने पनि सोच्नुभयो । तर त्यसले पनि ६, ७ महिना झुलाइदिने भएकाले, विदेश जस्तो ठाउँमा भएको काम छोडेर मुद्दामा अल्झिन सम्भव नै भएन । 

त्यसपछि पनि उस्तै पीडा र उस्तै बन्दीगृहमा जस्तै दुई वर्ष बिते । धेरै  प्रयास पछि बल्ल घर फर्किन पाउनुभएको थियो । तर लकडाउनले गर्दा उहाँ अहिले कष्टदायी दिन बिताइरहनुभएको छ । साथमा उहाँसँगै नेपाल फर्किने भनेर बसेका दुईजना साथी हुनुहुन्छ । 

‘सास रहेसम्म आश हुन्छ भन्थे, अन्तिममा सरकारको आश थियो, उसले पनि हामीलाई ठग्यो’, नगेन्द्र भावुक हुँदै भन्नुहुन्छ, ‘वास्तविक पीडितको लागि सरकार छ भने हामीलाई उद्धार गरोस् ।’

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया