आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाने दिन

 असार १५, २०७७ सोमबार ७:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरिंदैछ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।  कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसवर्ष असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।

मनसुन सुरु भएसँगै राम्रोसँग पानी परेकाले रोपाइँ छिटो भएको हो । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।

नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । कूल गार्हस्थ्य उत्पादनमा धानको उत्पादन ११ प्रतिशत रहेको छ ।

धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।  नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान ९बोरो० का रुपमा धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो ।

झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया