वीरगञ्जमा कोरोनाको कारण थप तीन जनाको ज्यान गयो

 साउन १६, २०७७ शुक्रबार ९:३:१ | केसी लामिछाने
unn.prixa.net

पर्सा - वीरगञ्जमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ ।

दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो ।

उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज-१६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो । ज्वरो आउने, श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा हिजो बिहीबार बेलुकी ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो  । 

ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि  १३ गते तराई अस्पताल लगिएको थियो ।  अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । 

उहाँको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो । यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज-२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

कोरोना भाइरसको सङ्क्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो ।

यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । बिहीबार पर्सा, बारा र रौतहटमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८ जना महिला छन् ।

नारायणी अस्पतालमा कार्यरत २ स्टाफ नर्स, १ जना सफाइकर्मी, औषधि कम्पनीबाट पेड पीसीआर परीक्षण गराएका १३ जना पर्साका छन् । बाराका २ जना र रौतहटका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउनमा मात्र पर्सामा ज्यान जानेको संख्या ८ पुगेको छ । 

योभन्दा अघि बारा र रौतहटका एक/एक जनाको वीरगञ्जमै ज्यान गएको थियो ।  यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया