'रामायण सर्किट' काे अवधारणा छिट्टै कार्यान्वयनमा ल्याउन नेपाल–भारत सकारात्मक

 असोज २३, २०७७ शुक्रबार १३:३३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरबारमा रहेकाे मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिका बारेमा कुराकानी भएको थियो । 

हवाई क्षेत्रका सम्बन्धमा उहाँहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्नेका साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे कुरा भएको थियो । कोभिड–१९ का कारण बन्द रहेको काठमाण्डौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुरु गर्नेबारेमा पनि उहाँहरुबीच कुराकानी भएको थियो । 

त्यस्तै संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले 'रामायण सर्किट' को अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनकाे क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।  

त्रेतायुगमा भगवान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै 'रामायण सर्किट' भन्ने गरिएको छ । जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयंवरपछि सीतालाई लिएर गएको धार्मिक भूमिलाई नै अहिले रामायण सर्किटका नामले चिनिन्छ । ६ सय ५० किलोमिटर लामाे सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्ने लक्ष्य लिएको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया