नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - उत्तरी छिमेकी देश चीनका राष्ट्रपति सी जिन पिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा दुई पक्षीय सम्झौता र सहमति कार्यान्वयनको समीक्षा हुन थालेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी देश चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गएकाे २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो ।
चिनियाँ राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गएकाे वर्ष असोज २६ गते भएका २० बुँदे बहुआयामिक सम्झौता भएका थिए ।
त्यस भ्रमणका अवसरमा भएका सम्झौता र त्यसअघिदेखि सञ्चालित दुई देशका सहकार्यका परियोजना कार्यान्वयनका लागि राजनीतिक र कूटनीतिक तहमा निरन्तर सम्पर्क भए पनि विश्वव्यापी कोरोना महामारीले प्रतिकूल प्रभाव पारेको छ ।
चीनमा सन् २०२० जनवरीमा विश्वमै पहिलोपटक कोभिड-१९ पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अन्य देशमा पनि भाइरसको सङ्क्रमण भएपछि अन्तरराष्ट्रिय हवाई उडान र द्विपक्षीय प्रत्यक्ष भेटवार्ता प्रभावित भए भने आआफ्ना देशमा महामारी रोकथाम र नियन्त्रणमा सम्बन्धित सरकार र संयन्त्र व्यस्त हुँदै आएका छन् ।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई उच्चस्तरीय भ्रमणका अवसरमा भएका सम्झौता कार्यान्वयनका लागि प्रोटोकल बनाएर जाने प्रक्रिया अघि बढे पनि परियोजना गएकाे कार्यले तीव्रता नपाउनुमा कोरोना महामारीले असर पारेको बताउनुहुन्छ ।
सल्लाहकार डा भट्टराईले भन्नुभयो, 'दुई देशबीचका राजनीतिक अन्य संयन्त्रका बीचमा निरन्तर सम्पर्क भइरहेका छन् । महामारीका कारण सम्झौताको शीघ्र कार्यान्वयनमा असर पर्न गएको यथार्थ हो । यसको अर्थ आपसमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा कुनै समस्या आएको भन्ने होइन । परिस्थितिको अनुकूलतापछि सम्झौता कार्यान्वयनले गति लिनेछ ।'
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री ओली अघिल्लो पटक सरकार प्रमुख रहँदा चीनको औपचारिक भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण व्यापार र पारवहन सम्झौता भएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणलाई सबै राजनीतिक दल र जनस्तरबाट भव्य स्वागत गरिएको थियो ।
सत्तारुढ नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल राष्ट्रपति सीको भ्रमण र त्यस अवसरमा भएका सम्झौताले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको जनाउँदै महामारीका कारण आपसी भेटघाट र परामर्श हुन नपाएको जनाउनुहुन्छ ।
नेकपाका केन्द्रीय सदस्य रिजालले यस्तो स्थितिमा भौतिकरुपमा नभेटेर पनि गर्न सकिने कामका लागि सरकारले थप पहल गर्ने अपेक्षा गर्दै भन्नुभयो, 'वर्तमान सरकारकै पालमा राष्ट्रपति सीको ऐतिहासिक भ्रमण भएको छ । अब सहकार्यका योजना निर्माणका कामहरु अविलम्ब टुङ्गोमा पुर्याउनुपर्छ । महामारीको प्रतिकूलताका रोकिएका कामहरुमा क्रमशः परिणाममूलक प्रगति हुने विश्वास लिन सकिन्छ ।'
‘नेपाल चाइना मिडिया फोरम’ का अध्यक्ष किशोर श्रेष्ठ राष्ट्रपति सीको गएकाे वर्षको नेपाल भ्रमण आपसी सम्बन्धमा ‘ब्रेक थ्रु’ भएको र त्यस अवसरमा उल्लेखनीय सम्झौता भएको जनाउँदै यसबीचमा कोरोना प्रकोप र बन्दाबन्दी आदि कारणले कार्यान्वयनमा गति लिन नसकेको बताउनुहुन्छ । प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष श्रेष्ठले आउँदाे दिनमा जनस्तरमा परिणाम देखिने गरी सहकार्यका परियोजनाको थालनी हुने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ राष्ट्रपति लि सियन नियन सन् १९८४ र जियाङ जेमिन १९९६ मा नेपाल आउनुभएको थियो भने तेस्रो चिनियाँ राष्ट्रपतिका रुपमा सी गएकाे वर्ष नेपाल आउनुभएको थियो । राष्ट्रपति सीको भ्रमणका अवसरमा नेपाल रेल परियोजनाबारे सम्भाव्यता अध्ययन गर्न नेपाल सरकारको भौतिक पूर्वाधार र चीनको यातायात मन्त्रालयबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सुरुङ निर्माणमा सहयोगका लागि समझदारी भएको थियो । नेपाल र चीनबीच आपराधिक मामिलामा सुपुर्दगी सन्धिको पहिलो कदम मानिने आपसी कानुनी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर र सगरमाथा संरक्षण सहयोगका लागि समझदारी भएको थियो ।
नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजना लगानीमा प्रवद्र्धनका लागि पनि समझदारी भएको थियो । त्यस्तै विभिन्न नगरबीच भगिनी सम्बन्ध स्थापना र चीनको छेन्दुमा नेपालको कन्सुलेट जनरल कार्यालय स्थापना गर्नेबारे पनि पत्र आदानप्रदान भएको थियो ।
चीनले नेपालमा ठूला र अत्यन्त उपयोगी पूर्वाधार निर्माण मानिने अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ-गोरखा राजमार्ग, भृकुटी कागज कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा कारखाना आदि निर्माण गरिदिएर नेपालीलाई आत्मनिर्भर बनाउनेतर्फ ठूलो सहयोग गरेको थियो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निजामती अस्पताल पनि चीनका उपहार हुन् । राष्ट्रपति सीले अघि सारेका बेल्ट एण्ड रोड (बिआरआई) योजनालाई पनि नेपालले सहमति जनाइसकेको छ भने नेपालले सधैँ एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउँदै आएको छ ।
चीनले नेपालको स्वाभिमानका हस्तक्षेप नगर्ने र आर्थिक विकासमा सघाउने सङ्कल्प गर्दै आएको छ । गएकाे वर्ष नै दुई देशका कम्युनिष्ट पार्टीबीच वैचारिक प्रशिक्षण र आपसी भ्रमण वृद्धिको सहमति भएको थियो । नेपालले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प अघि सारेको छ भने चीनले चिनियाँ विशेषताको एक्काइसौँ शताब्दीको समाजवादको ढाँचाको विकासलाई तीव्रता दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।